
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देशकै ठुलो सप्तकोसी नदीमा पानीको वहाब उच्च भएको छ । पूर्वी तराईका अधिकांश क्षेत्रमा लगातारको भीषण वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार बिहानको मापनअनुसार सप्तकोसीमा पानीको वहाब प्रतिसेकेन्ड दुई लाख ६१ हजार क्युसेक रहेको जनाए ।
उनका अनुसार पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको वहाब उच्च भएको हो । पानीलाई निकास दिन कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।
यस्तै, नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको छ । सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मानिन्छ । तर कात्तिकको सुरुआतमा परेको बेमौसमको वर्षाका कारण डुबानको खतरा बढेको छ ।
भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण पनि सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ । एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हुँदासमेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलङ्का टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।