
काठमाडौँ । बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् ।
५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ।
खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन्। नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन्।यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको बताए।
काठमाडौं ३ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा चार दिन देखि अविरल परेको वर्षाले ठुलो धनजनको क्षति पुर्याएको विषयमा छलफल हुने बताइएको छ ।
साथै बाढी पहिरोबाट भएको धनजनको क्षति , पिडित परिवारलाई राहातको विषयमा समेत छलफल हुने भएको छ ।
यस अघि नै प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकबाट देशभर भएका क्षतिको विषयमा विवरण लिइसकेकाले बाढी पहिरो प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् ।