
राजविराज-मोहुली नदीको बाँध भत्किँदा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा करिब ३०० परिवार बिचल्लीमा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण नदीको बाँध भत्किँदा त्यो बस्तीमा पानी पसेपछि उनीहरू बिच्चलीमा परेका हुन् ।
स्थानीयवासी महान्नद यादवले वर्षेनि यस्तो समस्या खेप्दै आएका बेला नदी किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नुपर्ने बाध्यता रहेको बताउनुभयो । राति अचानक ती बस्तीमा बाढी पस्दा साँझमा खाना पकाउनसमेत उनीहरू सकिएको छैनन् र अहिलेसम्म पनि भोकै रहेको पीडितले बताएका छन् । सोही वडाअन्तर्गत रहेको डोम बस्तीमासमेत छिरेको बाढीले करिब २० घर डोम परिवारलाई उठिबास बनाएको छ ।
डोम बस्तीअन्तर्गत चन्द्र मरिक, उपेन्द्र मरिक, सभापेत मरिक, सञ्जिव मरिक सुरेन्द्र मरिक, विरेन मरिकलगायत २० घर डोम परिवारलाई रूवावासी भएको छ । दुई दिनदेखि भोकै बस्न बाध्य बनेका उनीहरूलाई कतैबाट सहयोग मिल्न नसकिएको बताइएको छ । बाढी प्रभावित बस्तीमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेको छ । (रासस)
२ कात्तिक, काठमाडौं । बेमौसमको वर्षाका कारण भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्षति पुर्याएको छ ।
प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ । ‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो असर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने ।
प्रारम्भीक सूचनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका किसानको पाकेको धान बाढीको चपेटामा परेका छन् । किसानहरूले काटेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डुबेको प्रवक्ता सञ्जेल बताए ।
प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा पनि भित्र्याउन लागेको धान पानीले बिगारेको छ । पानीले बोटमा भिजेको धानभन्दा किसानले काटेर खेतमा सुकाएको, हावा र पानीका कारण ढलेर भिजेको धान बिउका लागि प्रयोग गर्नै नसक्ने बिगि्रएको छ । प्रदेश दुईमा मंगलबार दिउँसोबाट निरन्तर वर्षा सुरु भएकाले किसानहरु चिन्तित छन् । अन्य प्रदेशमा पनि आंशिक असर देखिएको छ ।
सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन क्षेत्रफलको ७.२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ ।
नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डुबानमा परेको छ ।