
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ अन्तर्गत पूर्व–पश्चिम लोकमार्ग जोड्ने सडकखण्डमा बाढीले सिटी सफारी बगाउँदा चालक बेपत्ता भएका छन् । सोमबार रातिदेखि परेको निरन्तरको वर्षापछि दुलारी खोलामा आएको बाढीले सिटी सफारी बगाउँदा चालक ४३ वर्षीय जीवन पराजुली बेपत्ता भएका हुन् ।
दुलारी चोकदेखि पश्चिमतर्फ रहेको एक पुलमा वर्षाका कारण खाल्डो परेपछि उच्च बहाबमा रहेको बाढीले मङ्गलबार राति सिटी सफारी बगाएको थियो । पुलमा परेको खाल्डोमा सिटी सफारी अड्किएपनि चालक पराजुली भने बेपत्ता भएको वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
पराजुली सोही दिन बेलुका ८ बजे पूर्वबाट पश्चिमतर्फ सिटी सवारी लिएर जाँदै गर्दा पानीको बहाबले सफारी बगाएको थियो । दुलारीदेखि कारीब १०० मिटर पश्चिमपट्टी रहेको पुलमा निरन्तर आएको वर्षाको कारण पूर्व पश्चिम लोकमार्गको सडक नै दबिएको थियो । सोही दबिएको पुलमा परी खोलाले बगाउँदा पराजुली बेपत्ता भएका हुन् ।
बुधबार बिहान प्रहरी र स्थानीयहरूले बाढीले बगाएको सिटी सफारी निकालेका थिए । बेपत्ता उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।