
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरो प्रभावित सुदूरपश्चिमका पाँचवटा जिल्लाको निरीक्षण गरेका छन् ।
३१ असोजदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिबारे बुझ्न दुई जना मन्त्रीसहित बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका थिए तर बाढीपिडितसँग भने प्रधानमन्त्री देउवाको भेट भएन ।
प्रधानमन्त्री आउने भएपछि केही आशा र केही भरोसासहित प्रतीक्षामा बसेका बाढी-पहिरोपीडित भने देउवालाई भेट्नै नपाएकामा दुखी र आक्रोशित बनेका छन् । ‘जनताका पीडा बुझ्न स्वयं प्रधानमन्त्रीज्यू आउन लागेको भन्ने खबर सुन्दा बाढी-पहिरोले दिएको दुःख भुलेर मनमा आनन्द भरिएको थियो’, बझाङको थलारा गाउँपालिकाका स्थानीय अशोक उपाध्यायले भने, ‘तर, दिनभर प्रतीक्षा गर्दा पनि उहाँ आउनुभएन । अहिले हामी निराश बनेका छौँ ।’
जनताका पीडा बुझ्ने नाममा प्रधानमन्त्रीले राज्यको ढुकुटी रित्याउने काम गरेको उनको आरोप छ । ‘जनता पीडामा छन्’, उनले भने, ‘प्रधानमन्त्री हेलिकोप्टर लगेर पीडितलाई भेट्ने बहानामा भ्रमण गर्दै हुनुहुन्छ । सदरमुकामबाट बुझ्ने खबर उहाँले काठमाडौंबाटै पाउन सक्नु हुन्छ ।’
उनले प्रधानमन्त्रीले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको भन्ने सुनेर हाँसो लागेको बताए । बझाङ सदरमुकाम चैनपुरमा केहीबेर बसेका देउवा पहिरोस्थल बझाङको थलारामा जाने कार्यक्रम रहे पनि प्राविधिक कारणले हेलिकोप्टर अवतरण गर्न नसक्दा फर्किएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
यसैगरी प्रधानमन्त्री देउवाले बैतडीमा पनि हेलिकोप्टरबाटै प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर प्रभावित क्षेत्र अवलोकन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका केही प्रतिनिधिसँग भेट गरेर डडेल्धुरा प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवाले करिब २० मिनेटजति स्थानीयबासीसँग भेटेको स्थानीय घनश्याम धामीले बताए ।
‘प्रधानमन्त्रीज्यूले बढीमा तीन मिनेट सम्बोधन गर्नुभयो’, उनले भने, ‘हाम्रा समस्याका विषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो ।’
उता, प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याहरूबारे ज्ञापनपत्र बुझाएका छन् । वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास- ५ ढुंगाडको करिब २०० रोपनी धान खेत बगरमा परिणत भएको छ ।पाँचवटा घर भत्किएका छन् । बाढीले गाउँ नै घेरेपछि दुई दिनसम्म स्थानीयबासीहरू टापुमा अड्किएका थिए ।
सुदूरपश्चिमको डोटीबाट सुरु भएको प्रधानमन्त्रीको भ्रमण बझाङ, बैतडी, डडेल्धरा हुँदै कंचनपुरमा टुंग्याइएको सिथो । डोटी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लामा भएको क्षतिको अवस्थाबारे दिपायलबाटै त्यहाँका जनप्रतिनिधि र स्थानीय तहका प्रतिनिधिसँग बुझेका थिए ।
डोटीबाट बझाङ गएका देउवाले जिल्ला सदरमुकाममा जिल्लाको वस्तुस्थिति बुझेका थिए । उनी बझाङको पहिरो प्रभावित क्षेत्र थलारा जान खोज्दा प्राविधिक कारणले हेलिकोप्टर अवतरण हुन नसकेपछि सोझै बैतडीको ढुंगाड गएका थिए ।
बैतडीको ढुंगाडमा सेती नदीले पारेको असरको प्रत्यक्ष अवलोकन गर्दै प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरा फर्केका थिए । स्थानीय नेता, जनप्रतिनिधिसँग डडेल्धुरामा वर्षाले पारेको क्षतिको विवरण बुझेर देउवा कंचनपुर पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले कंचनपुरस्थित महाकाली नदीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरे । पाँचवटै जिल्लाको अवस्था बुझेर प्रधानमन्त्री देउवा बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बसेका छन् । धनगढीमा देउवाले कांग्रेसका कार्यकर्तासँग भेटघाट गर्ने, बाढी-पहिरोबाट पारेको क्षतिको विवरण बुझ्ने कार्यक्रम रहेको जनाइएको छ ।
अविरल वर्षा र बाढी-पहिरोमा परेर बिहीबारसम्म सुदूरपश्चिममा ३१ जनाको मृत्यु भइसकेको छ १७ जना घाइते छन् भने २३ जना बेपत्ता भएका छन् ।