
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।
विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए । विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको उनले उल्लेख गरे ।
यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोरोना महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए ।
काठमाडौं : आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भई वर्षा हुने छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
यसैगरी आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन भनेको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिनभर र राती मौसम बदली रहने छ । मौसममा सुधार आएर घाम लाग्न आगामी सोमबारसम्म पर्खनुपर्ने पनि महाशाखाले जनाएको छ ।