
रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् । भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०÷५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ ।
यो पनि – अवरुद्ध भीमदत्त राजमार्ग तीन दिनपछि खुल्यो
डडेल्धुरामा अविरल वर्षासँगै आएको पहिराका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भिरमा आएको पहिरो पन्छाइए पनि डोटीको गोल्डेन र डडेल्धुराको साहुखर्कमा अवरोध भएका कारण राजमार्ग खुलेको थिएन । बुधबार वर्षा बन्द भएपछि निरन्तर डोजर लगाएर पहिरो पन्छाएपछि अहिले राजमार्ग पूर्णरूपमा खुलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । अत्तरियादेखि डडेल्धुरासम्म अब कुनै अवरोध छैन । पहिरो गएको ठाउँठाउँमा नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।बाटो खुलेपछि तीन दिनदेखि अलपत्र परेका सयौँ सवारीसाधन गन्तव्यतर्फ गएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
यो पनि – बाढी, पहिराबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने
पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो । यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपत् प्रकोप (बाढी, पहिरो)कै कारण मृतकको मृत्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ । सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा स्थानीयवासीलाई साक्षी राखी प्रकोपकै कारण मृत्यु भएको मुचुल्का गरी दाहसंस्कार गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।
बाढी र पहिराका कारण हालसम्म जिल्लामा २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । गाउँमा मृत्यु भएकालाई बजारी क्षेत्रमा पु¥याई शव परीक्षण गर्न सकिने अवस्था नरहेको तथा चिकित्सकलाई गाउँमा लगेर शव परीक्षण गर्नसक्ने स्थिति नरहेकाले सो निर्णय गरिएको प्रजिअ ढकालले बताउनुभयो ।
बैठकले जिल्लामा विपत्को स्थितिबारे थप सचेत र सजग भई उद्धार र राहतका कार्यलाई तीव्र र व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सो प्रकारको तयारी गर्ने निर्णयसमेत गरेको छ । बाढी तथा पहिराका कारण पाँचथरमा हालसम्म २६ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । यस्तै आठ जना घाइते भएका छन् ।
चार घाइतेको हेलिकप्टरमार्फत उद्धार
बाढी र पहिराबाट घाइते बनेका यहाँका चार जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ र ५ का उनीहरुलाई हिजो र आज नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको हो । उद्धार गरिएका घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको व्यवस्था गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो । मङ्गलबार राति पहिरामा परी घाइते भएकी मिक्लाजुङ–५ की अन्दाजी ४० वर्षीया दिलकुमारी राईलाई हिजो हेलिकप्टरमार्फत उद्धार गरी धरान पु¥याइएको थियो ।
पहिरामा परी घाइते भएका सोही वडाका २८ वर्षीय विशाल लावतीलाई आज बिहान उद्धार गरिएको छ । यस्तै आजै मिक्लाजुङ–२ की २३ वर्षीया आशा शेर्मा र मिक्लाजुङ–५ का अन्दाजी ५५ वर्षीय दिनेश लावतीलाई नेपाली सेनाको १ नम्बर पृतनाको हेलिकप्टरले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिनुभयो ।
उद्धार गरिएका शेर्मा र लावतीको अवस्था गम्भीर रहेको मिक्लाजुङ–२ का ढकेन्द्र भट्टराईले बताउनुभयो । तीन दिनसम्म अविरल वर्षाका कारण मिक्लाजुङमा मात्रै हालसम्म २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । सडक मार्गबाट उपचारका लागि लैजाने अवस्था नभएपछि स्थानीय प्रशासनसँगको समन्वयमा उद्धार कार्य जारी रहेको अध्यक्ष माखिमले बताउनुभयो । प्रजिअ ढकालका अनुसार बाढी र पहिराका कारण गम्भीर घाइतेलाई गृह मन्त्रालयको समन्वयमा उद्धार गरी उपचारको प्रबन्ध गर्ने कार्य निरन्तर चल्नेछ ।
मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो
यसैबीच पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले पहिरामा पुरिएर थप दुई जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरेसँगै मृतकको सङ्ख्या २८ पुगेको हो । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ की सहमाया आङ्देम्बे र सोही गाउँपालिका–२ की गीता राईको पहिराले पुरिएर मृत्यु भएको हो । उनीहरुको उमेर भने खुल्न सकेको छैन । पाँचथर प्रहरीले यसअघि नै २६ जनाको मृत्यु भएको पुष्टि गर्दै सनाखत गरिसकेको छ ।
पाँचथरमा अझै छ व्यक्ति बाढी तथा पहिरामा परी बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्तामध्ये दुई जना इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी छन् । उनीहरु पहिरामा परी घाइते भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका स्थानीयवासीको उपचारमा आएका थिए । यस्तै पाँचथरमा बाढी तथा पहिरामा परी आठ जना घाइते भएका छन् । घाइतेमध्ये मिक्लाजुङ गाउँपालिकाका चार जनालाई उद्धार गरी थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस