शुक्रबार १५ मंसिर २०८०

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहामाथि गरिएको अमानवीय व्यवहार तथा हातपातको घटनाको विरोधमा कर्मचारीहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामती कर्मचारीआधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेसी डेमोक्रेटिक सोसाइटीले संयुक्त रूपमा घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।

खानेपानी तथा ढल विकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि सिके राउतको जनमत पार्टीले हिलेपानी छ्यापेर नगर घुमाउँदै।
‘निमित प्रमुख कुशवाहालाई न्याय देऊ, डा. सिके राउतलाई कारबाही गर’, ‘सिके राउतको इन्जिनियर दर्ता खारेज गर’ भन्दै सयौँको संख्यामा प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतिघरमा भएको बिरोध प्रदर्शनमा सहभागीहरू ।
आफैँ इन्जिनियर भएर इन्जिनियरलाई बदनाम तथा बेइज्जत गर्ने काम भएकाले राउतको इन्जिनियरको लाइसेन्स खारेजीको माग गरिएको नेपाल इन्जिनियर एसोसिएसन प्रदेश २ का अध्यक्ष नन्दकिशोर यादवले बताए । उनले दोषीमाथि कडा कारवाही नभए आफूहरूले विकास, निर्माणको काम ठप्प गर्ने चेतावनीसमेत दिए । विरोध प्रदर्शनपश्चात उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

यता, प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले पक्राउ परेकामध्ये १७ जनामाथि मुद्दा चलाइएको र अदालतबाट म्याद थपसमेत भइसकेको हुँदा दोषीमाथि हदैसम्मको कारवाही हुने बताए । राष्ट्रसेवक कर्मचारीका लागि विशेष सुरक्षा योजना तयार गरेकाले ढुक्क भई काम गर्न कर्मचारीहरूलाई उनले आग्रह पनि गरे ।

काठमाडौंमा पनि प्रदर्शन

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए। जसको विरोधमा शुक्रबार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन्। काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

 


Last Updated on: October 23rd, 2021 at 10:46 am
६०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया