
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।
यो पनि – महामारीकोे पीडा : केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै
गलकोट, ७ कात्तिक (रासस) ः आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आउनुभएका उहाँलाई महामारीले निकै पिरल्यो । एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आउनुभएका उहाँले कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन हुनुभयो । उहाँले निकै घाटामा आफ्ना सवारीसाधन बिक्री गरेर ऋण घटाउनुभएको छ ।
महामारीले गर्दा आठ वर्षदेखि निरन्तर चल्दै आएको यातायात व्यवसायबाट पलाउन हुन पुगेको उहाँले नमिठो अनुभव सुनाउनुभयो । “कोरोना महामारीका कारण यातायात क्षेत्र ठप्प भयो, बैंकको किस्ता तिर्न कठिनाइ भयो, त्यसैले बस र माइक्रोबस दुवै बेचेर बसेको छु”, उहाँले भन्नुभयो, “लामो समयदेखि जमेको व्यवसाय एक्कासी घाटामा जाने अवस्थामा पुग्नु भनेको निकै जटिल विषय हो, अब केही समय व्यवसाय गर्दिनँ, पछि केही सोचौँला ।”
पर्वतको कुश्मा बजारमा घर भई धवलागिरिबाट देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्दै आउनुभएका तुलक अधिकारीले महामारीमा आफ्ना दुई स्कारपियो गाडी गुमाउनुभयो । महामारीका कारण सवारी चलाउन नसकेपछि ती गाडी बेचेर बसको किस्ता तिरेको नमिठो अनुभव उहाँसँग छ । अहिले बागलुङ, कुश्मा र म्याग्दीबाट अधिकारीका छ ठूला बस विभिन्न स्थानमा सञ्चालन हुँदै आएका छन् । उहाँले दसैँ, तिहार सुरु भएपछि सवारी खर्च र चालकको तलब तिर्न सक्ने भएको बताउनुभयो ।
“यातायात व्यवसायीको पीडा सुन्न सक्ने छैनन्, मजस्ता धेरै व्यवसायी यो क्षेत्रबाट पलायन भइसकेका छन्, मैले रु दुई करोड ५० लाख ऋण बैंकलाई बुझाउन छ”, उहाँले भन्नुभयो, “जेनतेन छवटा बस धानेर बसेको छु, अब केही राहत होला, दसैँअघि एकोहोरो जिल्लामा यात्रु ल्याउने काम भयो, अहिले पु¥याउने काम भइरहेको छ, पुरानै लयमा यातायात व्यवसाय फर्किन अझै दुई वर्ष लाग्ला ।”
राज्यले अतिप्रभावित क्षेत्रमा रहेको यातायात व्यवसायलाई उठाउन सक्दो पहल गरोस् भन्ने चाहना रहेको व्यवसायी अधिकारीले बताउनुभयो । दुईवटा एसीबस बागलुङ–काठमाडौँ र अन्य बस कुश्मा र म्याग्दीबाट छुटाउँदै आउनुभएको छ । सहकारीबाट ऋण खोजेर बैंकको किस्ता तिर्दै आएको जनाउँदै उहाँले कतिञ्जेल घर धितो राखेर ब्याज तिर्नुपर्ने हो अन्योलमा रहेको दुःखेसो पोख्नुभयो । उहाँको यातायात क्षेत्रमा मात्रै रु पाँच करोडभन्दा बढी लगानी छ ।
यातायात क्षेत्रमा रु तीन करोड लगानी गर्नुभएका काठेखोला गाउँपालिका–२ भिमापोखराका कुमार बम मल्लको व्यथा उस्तै छ । दुई एसीसहितको यात्रुबाहक बस सञ्चालन गर्दै आउनुभएका मल्लले दुई वर्ष आफ्ना सवारी ग्यारेजमा नै थन्केर बसेको बताउनुभयो । उहाँले अहिले दसैँमा बल्ल सवारीले आफ्नो खर्च उठाउन थालेको जानकारी दिनुभयो । “रु तीन करोडमा दुई ठूला बस खरिद गरेको थिएँ, कोरोनामा बैंकलाई किस्ता होइन, ब्याजमात्रै तिर्नसमेत हम्मेहम्मे भयो”, मल्लले भन्नुभयो, “कति साथीले ग्यारेजबाट अझै सवारी निकाल्न सकेका छैनन्, सवारीको टायर फेर्न नसक्ने अवस्था छ, पुरानै अवस्थामा फर्कन हामीलाई निकै समय लाग्नेछ ।”
यातायात व्यवसायी नै कोरोनाको प्रमुख मारमा भएकाले राज्यले यातायात क्षेत्रलाई टिकाउने खालको नीति ल्याउनुपर्ने उनीको माग छ । यातयात व्यवसायीको ऋणको अवधि बढाउने, तत्कालै मर्मतसम्भार खर्चलाई पुनः ऋण दिने गरी सरकारले पुनःकर्जा दिने नीति ल्याए पनि व्यवहारमा लागू नगरेको धवलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।
दसैँ, तिहारपछि र खोपको प्रबन्ध भएपछि यातायात क्षेत्रमा आशाको किरण पलाएको उहाँले बताउनुभयो । “केही आशाको किरण देखिएको छ, यसबीचमा दर्जन सवारी व्यवसायी पलायन हुनुपरेको छ, ऋण थेग्न नसक्ने अवस्थामा पुगिसकिएको थियो”, उहाँले भन्नुभयो, “राज्यले नीति, नियम बनाएर कार्यान्वयन नगर्ने हो भने समस्या हुन्छ, अहिले पनि बैंकहरुले ताकेता गरिरहेका छन्, व्यवसायीले कमाएपछि ऋण नतिर्ने कुरै हुँदैन ।” यातायात व्यवसायीलाई पलायन हुनबाट बचाउन राज्यले मुख्य जिम्मेवारी लिनुपर्ने यातायात व्यवसायी सङ्गठनहरूको माग छ । अत्यावश्यक क्षेत्रका रूपमा रहेको यातायात व्यवसायलाई कोरोनाले थला पारेको भए पनि विस्तारै बौरिने अवस्थामा आउने यातायात व्यवसायीको अपेक्षा छ ।
यो पनि – छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिनुभयो । यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी –२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिनुभयो । विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो । यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस