सोमबार १८ मंसिर २०८०

झापा । हाड (बोन) क्यान्सर पीडित भद्रपुर नगरपालिका ६ निवासी ९ वर्षीया कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले सार्वजनिक अनुरोध गरेका छन्।

क्यान्सरपीडित कोमलको उपचारमा हालसम्म ६ लाख रूपैयाँभन्दा बढी खर्च भइसकेको र उपचारका लागि अझै रकम चाहिने भएपछि उनका बुबा बुधकरणले आर्थिक सहयोग गरी छोरी बचाई दिन सबैसँग सहयोग मागेका हुन्। कोमलको छातीको करङको भित्री भागमा गाँठो पलाएको थियो।

परिवारले उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगेका थिए। ‘०७७ साल साउनमा ओम साईमा गाँठोको शल्यक्रिया भयो,’ बुधकरणले भने, ‘शल्यक्रिया राम्रै भयो, गाँठोबाट निस्किएको मासुलाई परीक्षणका लागि बिर्तामोड पठाइयो, ३ महिनापछि रिपोर्ट आउँदा बोन क्यान्सर भएको पुष्टि भयो।’

छोरीलाई क्यान्सर भएको पुष्टि भएपछि परिवारमा बज्रपात भएको उनले बताए। ‘छोरीलाई उपचारका लागि चितवन लैजानु पर्‍यो, अलिअलि बचत गरेको रकम छोरीको उपचार गराउँदा गराउँदै खर्च भयो,’ उनले भने, ‘आफूसँग भएको रकम सकिएपछि साहु, आफन्तजन र केही साथीभाइसँग पनि आर्थिक सहयोग मागियो, त्यसले पनि पुगेन।’ उनका अनुसार छोरीलाई एक पटक चितवन लगेर केमो दिन ३५-४० हजार खर्च हुन्छ।

दसैंपछि छोरीलाई लिएर आउनु भनेको थियो। पैसा नभएपछि चितवन जानै नसकेको उनले बताए। बिर्तामोडमै आधुनिक उपकरणजडित पूर्वाञ्चल क्यान्सर अस्पताल छ, तर आर्थिक अभाव र भनिदिने कोही नहुँदा त्यहाँ जान नसकिरहेको उनको भनाइ छ।

बुधकरणले बिर्तामोडस्थित एउटा पसलमा काम गरी परिवार पाल्दै आएका छन्। एक धुर जमिनसमेत नरहेका र परिवारसहित अरूको घरमा भाडामा बस्ने उनले जसोतसो गुजारा चलाउँदै आएका थिए।

‘छोरीलाई क्यान्सर भएपछि काम गर्न जान पनि पाइरहेको छैन’, उनले भने, ‘काम गर्नु कि छोरीको उपचार ? अहिले त परिवारको छाक टार्न पनि धौधौ भइरहेको छ।’ उनले एक्सेल बैंकको खाता नम्बर ००९०१०००१४४४३४०००००१ मा सहयोग रकम जुटाइदिन सार्वजनिक रूपमै अपिल गरेका छन्।

उनले थप कुरा बुझ्न ९८८६३७३७५९ नम्बरमा फोन गर्न पनि आग्रह गरेका छन्।


Last Updated on: October 25th, 2021 at 12:03 pm
६२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया