सोमबार १३ मंसिर २०७८

नयाँबानेश्वरको व्यस्त सडक भासिएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ ।

खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सवारी साधनहरु सर्भिस लेनतर्फबाट सन्चालन गरिएको छ ।

सुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। काठमाडौं सडक डिभिजन कार्यालयको टोलीले एक्स्काभेटर ल्याएर खनेपछि वास्तविक आकार थाहा भयो। खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब पन्ध्र फिट गहिरो खाल्डो बनेको छ। पूरै खोतलेपछि मात्र यसको आकारप्रकार नाप्न मिल्ने टोलीमा रहेका एक इन्जिनियरले बताए।

नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा परेको खाल्डो भर्न खटिएका सडक विभागका कर्मचारी । सडकको बीचभागमा अचानक खाल्डो हुँदा सोमबार यातायातसमेत केहिबेर अवरूद्ध भएको थियो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ । दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ ।

त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।

 


Last Updated on: October 25th, 2021 at 3:54 pm
७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया