आइतबार ०७ आश्विन २०८०

काठमाडौं। दुखान्त पनि कस्तो–कस्तो! काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे।

कोरोना प्रकोपको दोश्रो भेरियन्ट शुरु हुँदै गर्दा गत मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’

‘सबैको मंगल’ चाहने रोस्ती कोरोना प्रकोपको विषादमा परिन्। झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए रोस्ती र उनका श्रीमान् दीपक। ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएकी रोस्तीको वैशाख ३० गते निधन भयो। रोस्तीको निधन भएको २४ घण्टा नबित्दै वैशाख ३१ गते शुक्रबार बिहान उनका श्रीमान् दीपकको पनि निधन भएको खबर आयो। रोस्ती ७ महिने गर्भवती थिइन्।

‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाई दीपक पनि यो दुनियाँबाट बिदा हुनु भयो, कति ठूलो बज्र पर्‍यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला!,’ रोस्तीकी दिदी कल्पना काम्वाङले लेखेकी छिन्।

रोस्ती र दीपककी छोरी रसिया सुब्बा थेबेले अभिभावक गुमाएपछि आमाबुवाको तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमा र बुवा खुशीसाथ सँगै रहनुहोला, मेरो बारेमा चिन्ता नलिनु होला।’

रोस्ती र दीपकको निधनपछि सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ। दीपकका पिताको पनि दुई साताअघि मात्रै निधन भएको जानकारी सिनामका शिक्षासेवी एवं राजनीतिज्ञ सिंहबहादुर इवारमले दिएका छन्।


Last Updated on: May 16th, 2021 at 11:37 am
५६० पटक हेरिएको

तपाईको प्रतिक्रिया