मंगलबार २३ जेठ २०८०

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उहाँको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिनुभयो ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

गर्भवतीसमेत रहनुभएकी उहाँलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उहाँको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उहाँलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


Last Updated on: May 18th, 2021 at 12:07 pm
३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया