
कोरोना आशंकाले छुट्टै बसेकी थिइन्, भूकम्पले घरभित्रै पुरिइन् उमा
May 19, 2021 30
26
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
लमजुङको बेसीसहर नगरपालिका-६ चनौटेमा भूकम्पले घर भत्किएर पुरिएकी उमा गुरूङ केही दिनयता घरमा छुट्टै बसेकी थिइन्।
रूघा, ज्यान दुख्ने, खाना नरूच्ने लगायत समस्या आएपछि गत सोमबार उनी जिल्ला अस्पताल बेसीसहर गइन्, पिसिआर परीक्षण गर्न स्वाब दिइन्। पिसिआर परीक्षणको रिपोर्ट अहिलेसम्म आएको छैन। कोरोना संक्रमणको आशंकामा उनी घरमा छुट्टै बसेकी थिइन्।
जब बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गयो, सुतिरहेकै ठाउँमा घर भत्किएर उमालाई पुर्यो। त्यतिबेला उनका श्रीमान महेन्द्र गुरूङ ट्याक्टर लिएर मनाङ हिँडिसकेका थिए। घरमै रहेका उमाका आमा, १ छोरा र २ छोरी भने भूकम्पबाट जोगिन सफल भए।
आमा घरबाहिर निस्किसकेकी थिइन्। कान्छी छोरी श्रुति बिहानै उठेर दौडिन गएकी थिइन्। छोरा विशाल र छोरी सोनिका भने सुतिराखेकै थिए।
‘भर्खर ब्युँझिएको थिएँ, भूकम्प आएर धुलो उड्यो’, विशालले भने, ‘त्यसपछि उठेर बाहिर भागें।’
आमा घरको तल्लो कोठामा थिइन्। बाहिर भागेका विशाल घरभित्र जान खोजे घरको ढोका नै भत्किसकेको थियो।
विशाल भित्र छिर्न सकेनन्। आमालाई बाहिर निकाल्न विशाल र उनका दिदी सोनिकाले मात्रै सकेनन्। उमाका आमा गब्ली गुरूङ भने छोरी उमाको उद्धार गर्न हारगुहार गरिरहेकी थिइन्।
एकैछिन गाउँलेहरू जम्मा भए। घरभित्रै पुरिएकी उमालाई ढोकाबाट गएर निकाल्न सक्ने अवस्था थिएन। उनीहरू झ्यालबाट घरभित्र छिरे। घरको गारो भत्किएको थियो। टिनले छाएको छानो समेत भुइँमा पुरिएको थियो।
गाउँलेहरू जम्मा भएर टिन र ढुंगा पन्छाए। भित्र गएर हेर्दा त उमा पुरिएकी रहिछ। उनलाई पुरेको ढुङ्गा, माटो पन्छाएर झ्यालबाटै निकाले। उमालाई पुरिएको ठाउँबाट निकाल्न उनका छोरा विशाल, छोरी सोनिका र स्थानीय युकेश तामाङ पुगेका थिए।
अस्पतालमा आमासँगै पुगेकी छोरी सोनिकाका अनुसार उमाको टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न स्थानमा चोट लागेको छ।
ट्याक्टर लिएर मनाङ जान हिँडेका महेन्द्र भुलभुले पुगेका रहेछन्। घटना थाहा पाएपछि उनी त्यहीँबाट फर्किए।
जिल्ला अस्पतालमा उपचार गरेर उमा डिस्चार्ज भइसकेकी छिन्। उनलाई घरभन्दा केही तल रहेको कटेजमा लगेर राखेको उनका श्रीमान महेन्द्रले बताए।
रेष्टुरेण्ट चलाउन खोलिएको कटेज अहिले लकडाउनका कारण बन्द छ। घर भत्किएर पुरिएका सामान पनि निकालेर त्यहीँ लैजाने तयारी गरेको महेन्द्रले बताए।