शुक्रबार १४ माघ २०७८

काठमाडौं। तमिलनाडुको कुन्नुरमा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा जनरल रावत सहित १४ जना थिए । ११ जनाको शव भेटिएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । शव जलेकाले पहिचान हुन नसकेको बताइएको छ । तर, जनरल रावतको अवस्था के छ भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन । केही मिडिया रिपोर्टमा भने उनलाई गम्भीर रुपमा अस्पताल भर्ना गरिएको दावी गरिएको छ तर यो दावीको पनि पुष्टि हुन सकेको छैन ।

दुर्घटनास्थलमा सेना र स्थानीय पुलिसका अधिकारी पुगेका छन् । यही बीच एक प्रत्यक्षदर्शीले घटनाको बारेमा बताएका छन् । यी प्रत्यक्षदर्शीको नाम कृष्णासामी हो । उनले भारतीय मिडिया इण्डिया टुडेसँग कुरा गर्दै भने ‘मैले तेज आवाज सुनें । त्यसपछि घरबाहिर निस्किएर हेर्दा एउटा हेलिकप्टर एउटा रुखबाट अर्को रुखमा ठोक्किँदै आगोको गोला बन्यो ।’ कृष्णासामीका अनुसार हेलिकप्टर रुपमा ठोक्किँदा नै त्यसमा आगो लागिसकेको थियो ।

यस क्रममा कृष्णासामीले २–३ जना मानिसहरुलाई जलिरहेको हेलिकप्टरबाट बाहिर हाम्फालेको देखेका थिए । उनीहरुको शरीरमा पनि आगो लागेको थियो । कृष्णासामीले आफ्ना साथीहरुलाई जम्मा गरे र उद्धार गर्न सुरु गरे । जति पनि लाशहरु दुर्घटनास्थलमा भेटिएका छन् तिनीहरु ८० प्रतिशतसम्म जलिरहेका छन् । तर, सीडीएस जनरल रावतको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।

भारतीय वायुसेनाले एक बयान जारी गर्दै दुर्घटनाको विषयमा कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ । जानकारीअनुसार एम सिरिजको यो हेलिकप्टरले सीडीएस जनरल रावतलाई वेलिंगटनमा डिफेन्स स्टाफ कलेर लिएर जाँदै थियो । कोयंबटुरमा आधिकारिक सूत्रले इण्डिया टुडेसँग दुर्घटनाग्रस्त हेलिकप्टरको अवशेषबाट ११ शव निकालिएको बताएको छ ।


Last Updated on: December 8th, 2021 at 4:38 pm
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया