
काठमाडौं – भारतमा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ जनाको मृत्यु भएको छ । बुधबार तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावत र उनकी पत्नी मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको भारतिय मिडियाले जनाएको छ ।
हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख, उनकी पत्नी मधुलिका, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल एनके विवेक कुमार, एल एनके बी साई तेजा लगायत १४ जना सवार रहेका थिए ।
उक्त हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर दुर्घटनामा भारतीय वायुसेनाका समूह क्याप्टेन वरुण सिंह भाग्यले बाचेका छन्। उनलाई घाइते अवस्थामा वेलिंग्टनको सैन्य अस्पतालमा भर्ना गरिएको छ ।
सिंह डिफेन्स सर्भिस स्टाफ कलेज, वेलिंग्टन (निलगिरी हिल्स) मा निर्देशक हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे प्रतिक्रिया दिँएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सैनिक हेलिकोप्टर दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
हेलिकोप्टर दुर्घटना अपडेट : भारतीय रक्षा प्रमुखसहित १३ जनाको मृत्युहेलिकोप्टर दुर्घटना अपडेट : भारतीय रक्षा प्रमुखसहित १३ जनाको मृत्यु
दुर्घटना मौसम खराबका कारण भएको बताइएको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका थिए । वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो ।