आइतबार २१ जेठ २०८०

सरकारले चीनलाई तिरेको पैसा गोप्य राख्दा डब्ल्यूएचओको सहायता गुम्यो मूल्य किन गोप्य राखियो

काठमाडौं। सरकारले चीनसँग किनेको कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको मूल्य गोप्य राख्दा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट कोभिडबिरुद्धको खोपका लागि पाउने अनुदानबाट बञ्चित हुनुपरेको छ। नेपालले चीनसँग कति मूल्यमा खोप किनेको हो भन्ने स्पष्ट नभएको भन्दै डब्लूएचओले नेपाललाई दिने अनुदानमा रोक लगाएको हो।

चीनले सुरुमा नेपाललाई केही डोज भेरोसेल खोप अनुदानमा निःशुल्क दिएको थियो। तर, ठूलो संख्यामा खोप लगाउनुपर्ने र चीनले अनुदानमा दिएको भेरोसेलको एक डोज लगाइसकेकाहरुलाई पनि दोस्रो डोज भेरोसेल नै लगाउनुपर्ने भएकोले नेपालले पछि चीनसँग खोप किनेको थियो।

यसरी किनिएको खोप कति मूल्यमा किनियो भन्ने सार्वजनिक गरिएको छैन। सीसीएमसीको विश्वस्त सुत्रका अनुसार चीनसँग किनिएको खोपको मूल्य गोप्य राख्दा डब्यूएचओले नेपाललाई खोप किन्न दिने अनुदान रकम फिर्ता लगेको हो।

स्रोतका अनुसार नेपाल सरकारलाई चीनले खोपको मूल्य गोप्य राख्न भनेको छ। यसको दुई किसिमको व्याख्या गरिएको छ। पहिलो चीनले नेपाललाई कम मूल्यमा खोप उपलब्ध गराएको र सो मूल्य सार्वजनिक भए अन्य मुलुकले विरोध गर्ने भएकाले पनि चीनले खोपको मूल्य सार्वजनिक नगर्न आग्रह गरेको हो।

नेपाललाई चीनले असल छिमेकी भन्दै आएको छ। चीनले सुरु नेपाललाई भेरोसेल खोप निशुल्क उपलब्ध पनि गराएको थियो। सोही आधारमा चीनले सहुलियत रुपमा नेपाललाई कम मूल्यमा खोप उपलब्ध गराएको पनि हुन सक्ने बताइएको छ।

विश्व स्वास्थ्य संगठनले गरिब देशहरुलाई उनीहरुले खोप किन्नका लागि तिरेको मूल्यका आधारमा अनुदान दिने प्रावधान छ। तर, यसको लागि कति मूल्यमा खोप किनिएको हो भन्ने प्रस्ट हुनुपर्छ। चीनले भेरोसेलको मूल्य सार्वजनिक गर्न रोक लगाएपछि नेपालले जम्माजम्मी कति मूल्यको खोप किन्यो भन्ने आधिकारिक तथ्यांक डब्लुएचओमा पठाउन सकिएन जसका कारण संगठनले अनुदान रोक लगाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चीनसँग खरिद गरिएको भेरोसेल खोपको मूल्य मन्त्रिपरिषदले नै ‘नन डिस्क्लोजेबल’ अर्थात खुलाउन नमिल्ने भनेकोले मन्त्रालयले मूल्य सार्वजनिक गर्न मिल्दैन।

मन्त्रिपरिषदले किन यसलाई नन डिस्क्लोजेबल भनेर मूल्य सार्वजनिक गर्न रोक लगायो भन्ने विषयमा मन्त्रालयलाई जानकारी नभएको उनले बताए। विश्व स्वास्थ्य संगठनले गरिब देशहरुलाई उनीहरुले खोप किन्नका लागि तिरेको मूल्यका आधारमा अनुदान दिने प्रावधान छ।

तर, यसको लागि कति मूल्यमा खोप किनिएको हो भन्ने प्रस्ट हुनुपर्छ। चीनले भेरोसेलको मूल्य सार्वजनिक गर्न रोक लगाएपछि नेपालले जम्माजम्मी कति मूल्यको खोप किन्यो भन्ने आधिकारिक तथ्यांक डब्लुएचओमा पठाउन सकिएन जसका कारण संगठनले अनुदान रोक लगाएको हो।

चीनले किन मूल्य गोप्य राख्न भन्यो भन्ने स्पष्ट छैन। यसअघि सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा महंगोमा ल्याएको भन्दै विवाद भएको थियो। त्यसैले यस पटक पनि विवाद हुन सक्ने आशंकामा समेत मूल्य गोप्य राखिएको हुन सक्छ।

यसबाहेक चीनले सस्तोमा खोप दिएको भए पनि त्यहाँबाट नेपालसम्म ल्याउँदा चिनियाँ र नेपाली एजेन्टले धेरै कमिशन राखेका कारण महंगो भएको हुनसक्ने आशंका पनि गरिएको छ । तर, कतापट्टिका एजेन्टले धेरै कमिशन लिएका हुन् भन्ने स्पष्ट छैन।


Last Updated on: December 9th, 2021 at 11:24 am
४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया