
जिल्ला प्रहरी कार्यालय सल्यानकाे प्रमुख बनेर आएका डिएसपी सुमित खड्काले समाजमा अपराधिक घटनाहरु घरेलु मदिराले मात्रै नभएर ब्राण्डेड मदिराले निम्त्याएकाे बताएका छन् । उनले घरेलु मदिरा मात्रै नष्ट गरेर समाजमा अपराधिक घटना राेक्न नसकिने बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा भएकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उनले समाजमा सबैभन्दा बढी घटना मदिरा सेवनकै कारण हुने गरेकाे बताए ।
उनले भने, ‘ब्राण्डेड मदिराले इजाजत ल्याएर बिक्री गरिरहेका हुन्छन् । हामी खाली घरेलु मदिरा मात्रै नष्ट गर्छाैं । घरेलु मदिराले भन्दा बढी ब्राण्डेड मदिराले नाेक्सान गरेकाे छ । अब ब्राण्डेड मदिरालाइ प्रतिबन्द लगाउनु पर्छ ।’
स्थानीय सरकारले ऐन कानुन बनाएर ब्राण्डेड मदिरा पनि राेक्न सक्ने उनले बताए । ‘म स्थानीय सरकारका प्रमुखहरु सँग बसेर सल्लाह गर्छु, उहाँहरु ब्राण्डेड मदिरालाइ प्रतिबन्द लगाउन तयार हुनुभयाे भने म पहल गर्छु । सर्वाेच्चसम्म जानुपरे पनि म मुद्दा लड्न जान्छु’, उनले भने । रुकुममा आफु प्रहरी प्रमुख हुँदा पनि याे काम गरेकाे उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानकाे प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ६२, आ.व. २०७६/०७७ मा ६४ र आ.व. २०७७/०७८ मा ९५ गरी २ सय २१ मुद्दा मदिरा सेवनबाट घटना घटेका छन् ।
मदिरा सेवनकै कारण समाजमा महिला हिंसा, घरेलु हिंसा, अभद्र व्यवहार, जबरजस्ती करणी, ज्यान पार्ने धम्की, सवारी ज्यान, कर्तव्य ज्यान लगायतका घटना भइरहेको डिएसपी खड्काकाे भनाई छ ।