बुधबार २४ जेठ २०८०

व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो

नगरपालिकाभित्रका विद्यालयमा दरबन्दी कटौती गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने भएकाले विद्यार्थी कम भएका विद्यालय गाभिने तयारी गरेको हो । साथै बालविकासमा न्यूनतम पाँच र अन्य तहगत आधारमा न्यूनतम १० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई बालबालिकाको शिक्षा आर्जन गर्ने प्रत्याभूति गरी विद्यालय गाभिने निर्णय गरेको छ ।

उक्त कार्यका लागि नगरप्रमुख, उपप्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताए ।

नगरपालिका कार्यालयले दुई वटा कार्यविधि र एक एक वटा निर्देशिका पारित गरेको छ । प्राथमिक विद्यालयका शिक्षक दरबन्दी मिलानसम्बन्धी स्वेच्छिक अवकाश प्रोत्साहन वितरण कार्यविधि २०७८, अनुदान कोटामा शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७८ र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ पारित गर्ने निर्णय गरेको हो ।

साथै स्वेच्छिक अवकासका लागि २०७८ पुस मसान्तसम्म म्याद थप गर्नेसमेत निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत पण्डितले जानकारी दिए । यस नगरपालिकाभित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि आवश्यक कार्य अघि बढाउन नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीलाई जिम्मा दिने निर्णय गरेको छ ।

नगरपालिकाअन्तर्गतका कर्मचारीको तलब र अन्य सुविधा सफ्टवेयरमार्फत गर्न गराउन लेखा शाखालाई जिम्मा दिने निर्णय गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७८/०७/३० मा जारी ‘करार सेवामा

कार्यरत कर्मचारीको कार्य सम्पादनस्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौतासम्बन्धी मापदण्ड, २०७८’ जारी गरिसकिएको छ । नगरपालिकामा कार्यरत करार कर्मचारीको मूल्याङ्कन गर्न पुनरावलोकन कर्तामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, समिति सदस्यमा वरिष्ठ इन्जिनियर राजु पौडेल, सुपरिवेक्षकमा वरिष्ठ अधिकृत रामचन्द्र हड्खलेलाई तोक्ने निर्णय गरेको छ ।

विभिन्न वडाबाट लागत सहभागिताका योजनाको माग भइरहेकाले सहरी वडामा न्यूनतम ३० प्रतिशत र ग्रामीण वडामा न्यूनतम २० प्रतिशत लागत सहभागिता रहने गरी

२० लाखका पाँच र १० लाख रुपैयाँका १० योजना रहेका छन् । उक्त योजनाको लागत स्टिमेट र सम्बन्धित वडाको सिफारिसका आधारमा पुस १० गतेभित्र टोल विकास संस्थामार्फत प्रस्ताव माग गर्ने गरी पूर्वाधार विकास तथा योजना विकास शाखालाई जिम्मा दिने निर्णय गरेको छ ।

कार्यालयको काममा बाधा नपर्ने गरी जनप्रतिनिधि र कर्मचारी भ्रमण प्रस्तावलाई व्यवस्थापन गर्न नगर उपप्रमुख मीरा जोशीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य सङ्घले महोत्सवका लागि स्थान उपलब्ध गराउन माग गरेकामा माथिल्लो भतेरी उपलब्ध गराउने र जग्गा व्यवस्थापन र यातायात मार्ग व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ


Last Updated on: December 14th, 2021 at 1:49 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया