
रुकुम,रुकुम बाँफिकोट गाउँपालिका–५ निवासी अमृता केसी र उहाँका श्रीमान खरबहादुर केसीको कोरोनाले जेठ २ र ४ गते निधन भयो । रुकुम पश्चिमको सल्ले अस्पतालमा दुई दिनको फरकमा आमा बाबाको निधन हुदा ३२ वर्षकी कान्छी छोरी देवि केसी भने लामो समयदेखि पढाइको सिलसिलामा संघीय राजधानी काठमाडौँ बस्नुहुन्थ्यो । निषेधाज्ञामा काठमाडौमै बस्ने सोच बनाउनुभएको उहाँले आमा–बाबाको मृ त्युको खबरपछि घर जाने योजना बनाउनुभयो ।
आमा बाबाको अन्तिम अनुहार हेर्न नपाए पनि हिन्दु संस्कार अनुसारको विधिमा सहभागी हुन देवि हिँजो साँझ माछापोखरीबाट रुकुम पश्चिमको लागि गाडी चढ्नुभयो । गाउँमा जाने क्रममा आफ्नो सँगै सिटमा बस्नुभएको एक अर्का यात्रुलाई आफ्नो सबै दुख सुनाउनुभयो । कोरोनाले दुई दिनको फरकमा आमा र बाबाको निधन भयो भन्दै आफ्ना पीडा पोख्नुभयो ।
गाउँ जाने गाडी अगाडि बढ्यो, यात्रुहरु भने खचाखच थिए, अलिकति टेक्ने ठाउँ समेत थिएन । कमल ताल डिलक्सको उक्त गाडीले रुकुम लैजाने ५८ जना यात्रुहरु बोकेको थियो । माछापोखरीबाट साँझ ८ बजे हिडेको गाडी बुधबार बिहान ५ः३० बजेको आसपासमा नवलपरासीको दाउन्नेमा दुर्घटना भयो । उक्त दुर्घटनामा केसीको मृ त्यु भयो ।
अहिले देवीको मृत्युको खबरले रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५ स्यार्पुगाँउ गहिरो शोकमा डुबेको छ । आमाको जेठ २ गते निधन भएपछि काजकिरिया बसेका छोरा तिलविर केसीलाई जेठ ४ गते बाबुको निधन भएपछि पीडामाथि झनै पीडा थपिएको थियो तर बाबा आमाको १३ दिनको पुण्य तिथिमा सहभागी हुन घर आउँदै गरेको बहिनीको मृ त्युको खबरले दाइ तिलबिर र दिदी हिरा भावविह्वल बन्नुभएको छ ।-जनता टाइम्स