
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बएका छन् ।
नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको बताए ।
“निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताए । उनले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरे ।
यस्तै नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।
मतदानका लागि कुल ४७४३ प्रतिनिधि रहेका छन्। निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको जानकारी दिएका हुन् । हाल राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा सभापतिमा प्रधामन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइराला उमेदवार रहेका छन् ।
सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।
मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् ।
दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।