बुधबार २४ जेठ २०८०

काठमाडौं । धादिङ, स्याङजा, इलाम, अछाम, सिरहा, तनहुँ र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

धादिङको गल्छी गाउँपालिका-७ कोल्पुखोला गल्छी नुवाकोटस्थित सडक खण्डमा बागमती प्रदेश ०२–०२२ प ४१५१ नम्बरको मोटरसाइकललाई ना.५ ख ७८८९ नम्बरको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार गोरखा नगरपालिका–५ बस्ने ४६ वर्षीय दुर्गा बहादुर थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङजाको वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिक सडकमा भकुण्डेबाट वालिङ मोडतर्फ जाँदै गरेको लु.४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर २७ वर्षीय विशाल बिकको मंगलबार बिहान मृत्यु भएको छ ।

ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलामको माईजोगमाई गाउँपालिका–४ गैरीगाउँस्थित भित्री सडकमा मे.१ त ११७३ नम्बरको ट्याक्टरबाट लडेर ५४ वर्षीय पूर्ण बहादुर घलेको सोमबार साँझ मृत्यु भएको छ । घले अचानक ट्याक्टरबाट लडेपछि चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अछामको कमलबजार नगरपालिका–३ ढोरखोलाबाट दाउरा लोड गरी बयलातर्फ जाँदै गरेको से.१ त ८९१९ नम्बरको ट्याक्टरको ट्रलि पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार कमलबजार नगरपालिका–३ बस्ने ५५ वर्षीय दान बहादुर ढकालको मृत्यु भएको छ ।

सिरहाको लाहान नगरपालिका–२२ माछाफारमको गेट अगाडि सडकमा ना.१ ज ५८२७ नम्बरको विङ्गर गाडी र स.१० प ८४०३ नम्बरको मोटरसाइकल मंगलबार विहान ठोक्किदा खाई मोटरसाइकलमा सवार हाल पहिचान

नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ धमिनी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनस्थित भित्री सडकमा छाङपाटनबाट खैरेनीटारतर्फ जाँदै गरेको ग.१ क २९१५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३३ वर्षीय मंगल कुमालको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानी पुल नजिक सडकमा ना.५ ख १४९९ नम्बरको बसले लु.७७ प ९२०० नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप घर भएका ३५ वर्षीय

राजेश घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालबन्दी हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।


Last Updated on: December 17th, 2021 at 10:37 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया