
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएका एक वृद्धलाई हात्तीले आक्रमण गरी मारेको हो । कनकाई नगरपालिका २ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका स्थानीय ७८ बर्षीय कृष्ण भुजेललाई हात्तीले आक्रमण गरी मारेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले बताए । सोमबार दिउँसो घाँस काटन जंगल गएका भुजेल रातिसम्म पनि घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । सामुदायिक वनभित्र बुधबार दिउँसो मात्रै भुजेलको शव हात्तीले आक्रमण गरी मारेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । मनकामना केबुलकार चार दिनका लागि बन्द हुने भएको छ । मर्मतका लागि भन्दै आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने लागिएको हो । केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।
मर्मतसम्भार सकिएपछि पुस ८ गतेबाट पुनं संचालनमा आउने बताइएको छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको जनाएको छ। केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ।
मनकामना केबुलकार संचालनको २३ वर्ष पुरा भएको छ । हालसम्म १ करोड ६० लाख यात्रुले मनकामना दर्शनको सेवा लिएको कम्पनीले स्पष्ट पारेको छ । केबुलकारका प्रविधि अब पुरानो हुँदै गएकाले मर्मत सम्भार खर्च समेत बढ्दै जान थालेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षबाटै केबुलकारको प्रविधि स्तरोन्नति गरिने भएको छ ।
हाल रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा लैजानका लागि तीन चरणमा स्तरोन्नति गरिनेछ । २०८१ को भदौ महिनासम्म स्तरोन्नतिको कार्य सकिने लक्ष्य लिइएको छ । स्तरोन्नतिका लागि करिब ३० करोड लागत लाग्ने अनुमान छ । स्तरोन्नतिपछि डी– कनेक्ट सिस्टममा संचालन हुने नेपालकै पहिलो केबुलकार हुने कम्पनीको दावी छ ।