बुधबार २४ जेठ २०८०

दापा, फिलिपिन्स, ३ पुस– फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो ‘डर लाग्दो’ विनाश भएको विवरणहरु पनि प्राप्त भएका छन् ।

फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ का कारण बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका थिए । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार अहिलेसम्म तीन लाखभन्दा बढी मानिस आँधीका कारण विस्थापित भएका छन् ।

शनिबारसम्म साउथ चाइना सागरमाथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, मिन्डानाओ र पलावान टापुहरू पार गरेको थियो । प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन् ।

दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन । मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो ।तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा करोडौँको क्षति भएको छ । सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन भने बिजुलीका तार र खम्बाहरू ढलेका छन् ।

संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ । जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन् । (एएफपी)


Last Updated on: December 18th, 2021 at 3:35 pm
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया