आइतबार २१ जेठ २०८०

स्कुटर दुर्घटनामा घाइते भएकी एक युवतीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर २२ गते तनहुँ शुक्लागण्डकी-७ सेराटारमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी दुलेगौडा बस्ने २७ वर्षीया निशा थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत अकलादेवी मन्दिरबाट खैरेनीटारतर्फ जादैँ गरेको ग १० प ८८५४ नम्वरको स्कुटर दुर्घटनामा घाइते भएकी थापाको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

उपरीक्षक पौडेलका अनुसार स्कुटर पन्चर भएर अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर पछाडि बसेकी थापा गम्भिर घाइते भएकी थिइन् । त्यसलगत्तै थापालाई थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालक पोखरा –२९ आदर्श चोकका ४० वर्षीय रामबहादुर नेपालीको बायाँ हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सिरहाको लहान-ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका-३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको बलान विहुल गाउँपालिका-२ दिघियाका एकै परिवारका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ६० वर्षीय मोतीलाल यादव, उहाँका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाति अभिषेक यादव रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिनुभयो । सोही दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो ।


Last Updated on: December 19th, 2021 at 3:29 pm
२९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया