आइतबार १७ मंसिर २०८०

काठमाडौं (हाम्रो खेलकुद)– लामो समय देखि हङकङ बसो बास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको ४६ वर्षको उमेरमा मंगलबार बिहान पोखरामा निधन भएको छ ।

वैशाख २६ गते पोखराको जिएमसी अस्पतालमा भर्ना भएका तामाङको बिहान ३:३० बजे निधन भएको हो । एएफसी ए लाइसन्स कोर्ष गर्नका लागि तामाङ केहि महिना अघि स्वदेश फर्केका थिए ।

हङकङमा फर्कने योजना बनाइरहँदा कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागेपछि तामाङ पोखरामै थिए ।पारिवारिक श्रोतका अनुसार हङकङबाट आउँदा देखि नै खोकी लागिरहेको र औषधी खाइरहेका तामाङलाई अलि गाह्रो भएपछि वैशाख २६ गते अस्पताल लगिएको थियो ।

त्यहाँ परिक्षण गर्दा उनलाई कोराना पोजेटिभ देखिएको थियो । एक दशक भन्दा लामो समय देखि परिवारसहित हङकङ बसोबास गर्दै आएका तामाङ पोखराको सहारा क्लबको पहिलो पुस्ताका खेलाडी थिए ।

पछि उनले सहारा क्लबको फुटबल टोली र एकेडेमीलाई पनि प्रशिक्षण दिएका थिए । उनले भारतको पटियालाबाट फुटबल प्रशिक्षकको कोर्स पूरा गरेका थिए ।

सहारा हङकङका उपाध्यक्ष समेत रहेका तामाङ यसपटकको आहा रारा गोल्डकप आयोजना हुँदा पोखरामै थिए । लामो समय फ्रेन्ड्स क्लब र केहि समय तामाङले आरसिटीबाट पनि फुटबल खेलेका थिए ।

सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले तामाङको निधन परिवारका लागि ठूलो क्षति भएका बताए । तामाङका श्रीमती र १ छोरा हङकङ मै छन् । ‘परिवारका लागि अपुरणीय क्षति भयो’, थकालीले भने, ‘सहारा परिवारले आफ्नो सदस्य गुमाएको छ ।

यो क्षति कहिल्यै पूरा हुँदैन ।’४ दाजुभाई र ३ दिदीबहिनीका मध्येका कान्छा छोरा तामाङका आमाबुवा बेलायतमा बस्ने धिरजले बताए । उनको आज नै पोखरामा अन्त्यष्टि हुनेछ ।

 


Last Updated on: May 21st, 2021 at 7:26 pm
५८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया