
म्याग्दे गाउँपालिका-७,तनहुँका दीपक भण्डारीले मुडोजस्तै ओछ्यानमा पल्टिएर जीवन काट्न थालेको १२ वर्ष बितिसकेको छ। उहाँ २०६६ सालमा सडक दुर्घटनामा पर्नुभएको थियो। त्यसयता उहाँको टाउको मुनिको(कुमबाहेक) कुनैपनि अंग चल्दैनन्।
उहाँले फेसबुकमार्फत प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै इच्छामृत्युको माग गर्नुभएको छ। बाँच्नका लागि २४ सै घण्टा अरुको साहरा चाहिने भएकाले आफूसँगै परिवार पनि पीडित भएको दीपक सुनाउनुहुन्छ। राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको अत्यावश्यक सेवा सुबिधा पाउन स्थानीय सरकारसँग निवेदन गर्दापनि प्राप्त गर्न नसकेकाले अब आफ्नो चाहना ‘इच्छामृत्यु’ भएको उहाँ बताउनुहुन्छ।
एकपटक प्रधानमन्त्रीलाई भेट्न पाए हुने भन्ने इच्छा उहाँले जाहेर गर्नुभएको छ। ‘म एकपटक प्रधानमन्त्री ज्यू तपाईंसँग प्रत्यक्ष भेटी मेरो पीडा र आवश्यकताको यथार्थ अवगत गराउन चाहन्छु’ दीपक भन्नुहुन्छ, प्रधानमन्त्री ज्यू एकचोटि तपाईँले मेरो ठाउँमा रहेर पीडाको महसुस गरेर हेर्नुहोस्।’
प्रधानमन्त्रीलाई भेटी आफू र आफूजस्तो परिस्थितिमा बाँच्न बाध्य व्यक्तिहरूको हितका विषयमा कुरा गर्ने दीपकको चाहना छ। ‘यसै निवेदनमार्फत तपाईं माननीय प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गर्दछु। पक्कै पनिे भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु।’ दीपकले फेसबुकमा लेख्नुभएको छ।