
सुत्केरी गराउन शुक्रबार दाङबाट एम्बुलेन्समा बाँके लगिँदै गरेकी एक महिलाले बाटैमा शिशु जन्माइन् र बाटोमै शिशु गुमाइन्।यो घटनाबाट अहिले दाङ घोराही उपमहानगरपालिका-१, सिमलताराकी सुनिता थापा विक्षिप्त छिन्। सुत्केरी व्यथा लागेर बाँके जाने क्रममा थापाले लमही नगरपालिका-९, अमेलियामा शुक्रबार बिहान ११ बजे छोरा जन्माएकी थिइन्। सुनिताका जेठाजु निम थापाले एम्बुलेन्समा बुहारी सुनितालाई बाँके लैजाँदै थिए।
‘म बुहारीलाई लिएर नेपालगन्ज जाँदै थिएँ। बाटोमै बुहारीले छोरा जन्माइन्,’ निमले भने, ‘बाटैमा सन्तान जन्मिँदा निकै खुसी भयौं तर हाम्रो खुसी केही बेरमै आँशुमा परिणत हुन पुग्यो।’जन्मिएको केही समयमै बच्चाको मृत्यु भएपछि आफूहरू त्यहीँबाट घर फर्किएको निमले बताए। निमका अनुसार बिहीबार राति १२ बजेतिर सुनिताको रक्तस्राव भएपछि परिवारका सदस्यले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए।
‘बुहारीलाई हेरेपछि सबै ठिक छ, अहिले घर जानुहोस्, भोलि बिहान ८ बजे फेरि आउनुहोला भनियो,’ निमले भने, ‘त्यसैले हामी राति साढे दुई बजेतिर घर पुगेका थियौं।’उनीहरू अस्पतालले भनेकै समयमा शुक्रबार बिहान ८ बजेतिर प्रतिष्ठान पुगे। त्यतिखेर भने बच्चा बचाउने भए तुरून्तै बाँके लैजानू भनेर अस्पताल प्रशासनले भनेको निमले बताए। ‘प्रतिष्ठानजस्तो ठाउँमा पुग्दासमेत चौबीसै घन्टा डाक्टर पाइँदैन भने कहाँ पाइन्छन्?’ उनले भने, ‘समयमै राम्रो उपचार भएको भए आज हामीले बच्चा गुमाउनुपर्ने थिएन।’
निमले जिल्लामा एउटा गतिलो अस्पताल नहुनुले सुत्केरी महिला, दुर्घटनाका घाइतेलाई बाहिर लैजानुपर्ने परिस्थितिले निकै पीडा भोग्नु परिरहेको गुनासो पनि गरे।अस्पताल प्रशासनले भने आफूसँग एनआइसियू सेवा नभएका कारण सुत्केरीका लागि सुविधायुक्त स्थान बाँकेमा रिफर गर्नुपरेको बताएको छ। श्रोत सेतो पाटि