बुधबार १७ जेठ २०८०

काठमाडौं ।

संयुक्त राष्ट्रसंघ युएन को ‘म्याण्डेट’ अनुसार शान्ति मिशनमा महिला सैनिक सहभागी गराउन नेपाली सेना असफल भएको छ ।

युएनले सन् २०२१ भित्र गण र गुल्मको बटालियन लिएर जाने सैनिक समूह ‘कन्टिनजेन्ट’तर्फ ८ प्रतिशत महिला सैनिक पु¥याउन नेपाली सेनालाई भनेको थियो । तर, सो लक्ष्य अनुसार नेपाली सेनाले महिला सैनिक पठाउन सकेको छैन ।

यसअघि कन्टिनजेन्टतर्फ ३ दशमलव ९१ प्रतिशत महिला सैनिक थिए । सो संख्यालाई बढाएर २०२१ भित्र ८ प्रतिशत सहभागी गराउन राष्ट्रसंघले भनेको थियो । सन् २०२१ बिदा हुन केही दिनमात्र बाँकी हुँदा शान्ति मिशनमा लक्ष्यभन्दा आधामात्र महिला सैनिक सहभागी छन् ।

जंगी अड्डाका अनुसार कन्टिनजेन्ट महिला सैनिकको संख्या अहिले ४ प्रतिशतको हाराहारी पुगेको छ । कन्टिनजेन्टतर्फ महिला सैनिकको सहभागिता ४ प्रतिशतमात्रै रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए ।

पौड्यालले भने, ‘कन्टिनजेन्टमा चाहिँ नेपाल मात्र नभएर अरु देशको पनि समस्या छ, हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं ।’ शान्ति मिशनमा कन्टिनजेन्टतर्फ अहिले कुल १ सय ७४ जना महिला सैनिक परिचालित छन् । अबको करिब ३ महिनामा लक्ष्य अनुसार सैनिक संख्या पुग्नेगरी तयारी भइरहेको सैनिक प्रवक्ता पौड्यालले बताए ।

राष्ट्रसंघका १२ वटा मिसनमा अहिले पुरुष र महिला समेत कुल ५ हजार २ सय १९ जना सैनिक सहभागी छन् । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भर महिला सैनिकको संख्या चाहिँ सन् २०२१ भित्र १८ प्रतिशत पुर्याउन राष्ट्रसंघले नेपाली सेनालाई पत्र पठाएको थियो । मिलिटरी अब्जर्भर र स्टाफ अब्जर्भरतर्फ लक्ष्यअनुसार सहभागिता भएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘स्टाफ अफिसरमा अहिले हाम्रो १९ प्रतिशत महिला सहभागिता छ ।’ राष्ट्रसंघले सन् २०२८ सम्ममा कन्टिनजेन्ट तर्फ १५ प्रतिशत र अब्जर्भर तर्फ २५ प्रतिशत महिला सहभागिता गराउन सेनालाई म्याण्डेट दिएको छ ।


Last Updated on: December 27th, 2021 at 12:39 pm
६२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया