
काठमाडौं । सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको छ । प्रहरीको भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको घटनालाई लिएर भएको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको हो ।
प्रहरीको भ्यानले गत आइतबार राति ईश्वरपुर नगरपालिका ५ का रामकुमार महतोलाई ठक्कर दिएपछि उनको ज्यान गएको थियो । सोही घटनाकोविरुद्धमा ईश्वरपुर बयलवासका स्थानीयले प्रर्दशन गरेका छन् । दुई दिनदेखि बजार बन्द गराएर उनीहरूले प्रर्दशन गरिरहेका थिए ।
प्रर्दशनबाट सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी हुन सक्ने भन्दै निषेधज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज ३ बजेदेखि बुधबार साँझ ७ बजे सम्मका लागि निषेधज्ञा जारी गरेको हो ।
इलाका प्रहरी कार्यालय केशरगञ्ज सर्लाहीबाट पूर्वमा इश्वरपुर नगरपालिका ४ सागरनाथ टोल सम्म र पश्चिममा इश्वरपुर नगरपालिका ८ रामपुर सम्म निषेधज्ञा क्षेत्र तोकिएको छ । उत्तरमा इश्वरपुर नगरपालिका ५ सखुवनी टोल सम्म र दक्षिणमा सोही पालिकाको ९ खोरिया टोलसम्म निषेधज्ञा जारी गरिएको हो ।
प्रदर्शनकारीले घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कानुनी कारबाही एवम् राज्यद्वारा दिइने क्षतिपूर्तिबाहेक मृतकका सन्तानलाई लालनपालन एवं पठनपाठनका लागि थप १५ लाख रुपैंया राहत उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।