बुधबार १७ जेठ २०८०

दाङ । घोराही कारागारका कैदी भगाउन सहयोग गरेको अभियोगमा जेलर युवराज परियार पक्राउ परेका छन् । परियारले योजनाबद्ध रुपमा कैदीलाई भगाउन भूमिका खेलेको पाइएपछि अनुसन्धानका लागि सोमबार पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ । गर्भवती प्रेमिकालाई हत्या गरी कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका गढवा गाउँपालिका-३ बेलाका २९ वर्षीय यमराज परियार उपचारको बहानामा बिहीबार कारागारबाट निस्केर भागेका थिए ।

कैदी परियारलाई भगाउन जेलर परियारले विभिन्न किसिमले सहयोग गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। परियार पुस ६ देखि १३ गतेसम्म बिदामा बसेका थिए । ८ गते बिहान कारागारमा आएर उनले कैदी परियारलाई उपचारका लागि बाहिर जान अनुमति दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । बिदामा बसेको बेला कार्यालयमा आएर कैदीलाई बाहिर जान दिएपछि र अन्य विभिन्न सम्बन्ध खुलेपछि परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै कारागार सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, एक प्रहरी हवल्दार र प्रहरी जवान धनबहादुर चौधरी पनि नियन्त्रणमा छन् ।

उनीहरूबारे गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । अहिले जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको र सम्पूर्ण तथ्य बाहिर आउन केही दिन लाग्ने जेलर वलीले बताए । यसैगरी प्रहरी सहायक निरीक्षक ठकुरीको ठाउँमा प्रहरी नायब निरीक्षक नन्दराम केसीलाई खटाइएको छ ।

छालाको उपचार गर्न भन्दै परियार प्रहरी जवान धनबहादुर चौधरीका साथ बिहीबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा कारागारबाट बाहिर निस्किएका थिए । तर उनीहरू अस्पताल नगई होटलमा पुगेका थिए । उनीहरू सुरुमा घोराहीको प्याराडाइज होटलमा पुगेर कफी पिएका थिए । त्यसपछि प्रहरीको मोटरसाइकल कैदी परियारले चलाएर सब्जीमण्डी हुँदै थकाली होटलमा पुर्‍याएका थिए । होटलमा पुगेपछि परियारले दुई केटीलाई बोलाएका थिए । तीमध्ये एक परियारकी प्रेमिका थिइन् भने एक अर्को महिला थिइन् ।

परियारले आफ्नो प्रेमिकालाई प्रहरी जवान चौधरीको साथमा छुट्टै कोठामा पठाएका थिए भने आफू अर्को महिलाको साथमा छुट्टै कोठामा गएका थिए । त्यही मौकामा चौधरी बसेको कोठाको बाहिरबाट चुकुल लगाएर परियार प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । चौधरीलाई प्रेमिकाले लामो समयसम्म कोठामा भुलाउने र त्यही मौकामा आफू भाग्ने योजनामा परियार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

कैदी परियारलाई जेलर परियारले भदौ २३ मा कारागारको नाइके बनाएका थिए । त्यसपछि दुईजनाबीच लामो समयसम्म विभिन्न सम्बन्ध भएको प्रहरीले पत्ता लगाएको छ ।

नाइके भएपछि परियार सहजै कारागारबाहिर आउनेजाने गरेका थिए । प्रेमिका नियमित रुपमा कारागारमा परियारलाई भेट्न जाने गर्थिन् । परियारकी प्रेमिका, होटलमा सँगै रहेकी अर्की महिला र होटल व्यवस्थापनमा खटिने एक युवालाई पनि पक्राउ गरिएको एसपी काफ्लेले बताए ।

भाग्न प्रयोग गरेको मोटरसाइकल लमही नगरपालिका ६ बेलदमारको जंगलमा फेला परे पनि कैदी भने अझै फेला परेका छैनन् । परियारको खोजीमा डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लाको प्रहरी टोली खटिएको छ । सीआईबीको टोली पनि अनुसन्धान र खोजीमा खटिएको छ ।


Last Updated on: December 28th, 2021 at 5:42 pm
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया