बुधबार २४ जेठ २०८०

धनगढी। धनगढीमा ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन् ।

विद्युतीय कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही ‘फण्ड’ जुटाएर पुनः अरु इलेक्ट्रिक सामग्री निर्माण गर्ने उनीहरुको चाहना बमोजिम बोग्टानी किङले सोमबार दिउँसो नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन्। धनगढीको एक्सिस विद्याश्रममा कक्षा १० मा अध्ययनरत चार जना विद्यार्थीहरूले ‘विद्युतीय कार’ निर्माण गरेको र उनीहरुलाई पुनः केही रकम आवश्यक परेको खबर थाहा पाएपछि आफ्नो मनमा सहयोग गर्ने सोच पलाएको उनले बताए।

उनले भने,‘उनीहरुले विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि फण्ड जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको हुँ।’ सोमबार दिउँसो बोग्टानी किङले विद्युतीय कार निर्माण गर्ने ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको टोलीलाई संयुक्तरुमा नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।

विद्युतीय कार निर्माणपश्चात् पहिलो पटक यसरी बाहिरबाट सहयोग प्राप्त भएको बताउँदै ऋषिकेश थापाले भने,‘हामीलाई यसरी पहिलोपटक सहयोग भएको छ, यो सहयोगले अझ केही गर्ने हौसला थपिएको छ ।’ ‘जता जान्छ यो बोगटानी उतै रमझम’, ‘तेरी मेरी ब¥याँत बाजा बजन्ना’ लगायतका दर्जन बढी गीत गाइसकेका बोग्टानी किङले दुई दर्जन बढी थारु तथा डेउडा र आधुनिक गीतमा अभिनय समेत गरिसकेका छन् । उनको ठूलो पर्दाको डोटेली भाषाको दोस्रो चलचित्र ‘नन्दी’ छायाङ्कनपश्चात् प्रदर्शनीको तयारीमा छ ।


Last Updated on: December 30th, 2021 at 11:08 am
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया