बुधबार १७ जेठ २०८०

चिसो बढेसँगै देशका विभिन्न स्थानका विद्यालयहरु बन्द गरिन लागेका छन् । यसैबीच, चिसो बढेपछि खोटाङको एक गाउँपालिकाले पनि १५ पुसदेखि २३ पुससम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

खोटाङको जन्तेढुंगा गाउँपालिकाले एक साता विद्यालय बन्द गरेको हो। गाउँपालिका अध्यक्ष शंकरबहादुर राईले यसलाई हिउँदे बिदामा कटौती गरिने जानकारी दिए। जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन्। बुधबार बिहानदेखि खोटाङमा वर्षा र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ।

हिमपातका कारण टेम्के, चखेवा भञ्ज्याङ, मैयुँ, लौरे, मेरुङ, बहानेपोखरी, रावाधाप, वाप्लुखाको मूलडाँडा लगायत स्थान सेताम्मे भएका छन्।

रसुवामा पनि हिमपात, जनजीवन प्रभावित

रसुवा जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ। रसुवाको क्यान्जिन उपत्यका, लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ, चिलिमे लगायत विभिन्न स्थानमा हिमपात भएको स्थानीयले बताएका छन्।

त्यसै गरी, गोसाइँकुण्ड तथा यस पदमार्गको चोलाङपाटी, लौरिविना, बुद्ध मन्दिर लगायत क्षेत्रमा बाक्लो हिमपात भएको छ। गत्लाङ आसपासमा करीब १ फिट हिउँ जमेको स्थानीय अनिल लामाले बताए।

‘यहाँ रातिदेखि नै हिउँ परिरहेको छ,’ उनले भने, ‘गत्लाङ गाउँमा एक फिट हिउँ पुग्न लाग्यो, पार्वतीकुण्डतिर चाहिं एक फिटभन्दा बढी जमेको छ ।’

लामाका अनुसार, गत्लाङका स्थानीयमध्ये अधिकांश कृषक भएकाले गोठबाट गाईवस्तु घरतिर ल्याउने तथा गोठमा घाँस पुर्‍याउने काम गरिरहेका छन् ।

जिल्ला सदरमुकाम धुन्चेमा करीब तीन वर्षपछि हिमपात भएको छ। यसअघि धुन्चेमा २५ माघ २०७५ मा हिमपात भएको थियो। हिउँ परेसँगै बाली सप्रिने आशामा किसान खुशी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।


Last Updated on: December 30th, 2021 at 1:39 pm
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया