
कुनैपनि ब्यक्तिलाई राम्रो सफलता हात पार्नका लागि अनेकौ ठक्करहरु खानुपर्छ, ती ठक्करलाई जो ब्यक्तिले नआत्तेर पार गर्छ, त्यसले एक न एक दिन सफलताको उचाई छुनेगर्छ । यस्तै बाल्यकालमा नै अनेकौं ठक्कर खाएर, निकै पिडादायी किसिमले अगाडी आएर अहिले चर्चा पाइरहेका एक खेलाडी हुन सुरज जिउ ठकुरी ।
काठमाडौं भित्र रहेको एकमात्र ठूलो खुल्ला ठाँउ, जहाँ सर्वसाधारणले पनि सहजै प्रवेश गर्न पाउछन, गर्मी मौसममा होस या जाडो मौसममा टुडिँखेलमा जाने मानिसको कमि हुँदैन । यहाँ आउने जो कोहिलेपनि भित्र प्रवेश गर्दा गेटैमा एक महिलालाई देखेकै हुन्छन् । ठूलो चौरको कुनामा डालोमा विस्कुट, चाउचाउ, चुरोट, बदाम राखेर विक्रिमा बसिरहेकी महिला हुन, हाल राष्ट्रिय फुटबल टिमका सदस्य रहेका सुरज जिउ ठकूरीकी आमा रिता जिउ ठकुरी ।
उनले साे स्थानमा बसेर सानोतिनो जिबिकापार्जन गर्ने नांग्लोको पसल थापेको झण्डै २० बर्ष भयो । यहि नांग्लोको ब्यवसायबाट उनले आफ्ना दुई छोरालाई हुर्काएकी छिन । टुडिँखेलमा यो पसल थाप्नुको पछाडीको अर्को कहानी अर्को पिडा उनीसँग निकै ठूलो छ । नेपाली समाजमा एकल महिला भएर बाँच्नुको चुनौती यीनलाई भन्दा धेरै कसलाई थाहा होलार, सुरज सानै हुँदा श्रीमानले यो संसार छोडेर गएपछि उनको परिवारमा आकाश खसेजस्तै भएको थियो ।
गाउँबाट शहर पस्दा केहि गर्ने अठोटका साथ आएको सुरजको परिवारका मुली नै साथ छोडेर गएपछि ठूलो बज्रपात परेको थियो । त्यो बेला सुरज र उनका भाईलाई कसरी हुर्काउने भन्ने ठूलो चुनौती उनकी आमा रितालाई परेको थियो । तर आफुले गर्दै आएको कामलाई निरन्तरता दिँदै आफुलाई सम्हाल्दै उनले दुई छोरालाई हुर्काइन ।
काठमाडौं आएदेखि नै मखन टोलमा सुरजको परिवारले आफ्नो बस्ने स्थान बनायो । नेप्लेजको टिमले आखिर सुरजको भित्रि कथालाई खोज्ने प्रयासका साथ उनको घरसम्म जाने मौका पायौं ।
अग्ला अग्ला घर, सानो बाटो, मानिसको भिँडैभिड, सुरजको घर पुग्नका लागि हामीले मखन चोकमा उनलाई भेटेपछि पक्ष्याउँदै उनको घर जाँदै थियौं । जाँदै गर्दा वरिपरि अग्ला अग्ला घर, एउटा ठूलो गाडीपनि जान नसक्नेबाटोबाट एउटा पुरानो घरको गेटमा प्रवेश गर्दा हामीलाईपनि अचम्म लाग्यो, राष्ट्रिय फुटबलर कस्तो ठाँउमा बस्दो रहेछन् भनेर ।
ठूलो चौरको कुनामा डालोमा विस्कुट, चाउचाउ, चुरोट, बदाम राखेर विक्रिमा बसिरहेकी महिला हुन, हाल राष्ट्रिय फुटबल टिमका सदस्य रहेका सुरज जिउ ठकूरीकी आमा रिता जिउ ठकुरी ।
जाँदै गर्दा घरैघरको विचमा एउटा सानो जस्ताले छाएको एक कोठाको छाप्रोमा सुरज प्रवेश गरे । त्यसपछि नेप्लेज टिमनै आश्चार्यमा पर्यो । वरिपरि अग्ला घर, त्यसको विचमा जस्ताले छाएको छाप्रो, त्योपनि निकै कुचुक्क परेको । एक जना प्रवेश गर्यो भने अर्को ब्यक्तिलाई फर्किनपनि कठिन हुने उनको कोठा थियो ।
लाग्थ्यो, भारी बर्षा भयो भने त्यो छाप्रोमा बस्न नै कठिन हुन्छ होला । सुरजको त्यो कोठामा प्रवेश गर्यौं, उनको तीन जनाको परिवार कसरि बसिरहेको छ भन्ने आभाष भयो । निकै संघर्ष गरेर अहिलेको अवस्थामा आइपुगेकी सुरजकी आमाको पिडा बोली र आशुमा देखिन्थ्यो ।
आमाको आँखामा आशु देख्न नसक्ने सुरज उनी बोलिरहेको बेला भावुक हुँदा सम्झाइरहेका थिए । पिडाँपछिको खुसी र त्यो खुसीमा पनि कसैको नजर लाग्छ की भन्ने ठूलो चिन्ता सुरजको परिवारलाई छ । सुरजलाई राष्ट्रिय फुटबल खेलाडी बनाउँदा जति संघर्ष उनकी आमाले गरिन, त्यति नै संयम्ता सुरज र उनका भाईले गरेका छन । फुर्सद भयो की आमालाई सघाउन टुडिखेल पुग्ने उनीहरु अहिलेपनि बेला मौकामा जाने गरेका छन ।
कुनै समय हेप्ने छिमेकीपनि अहिले सुरज जिउको नाम चिनिन थालेपछि ब्यवहारमा परिवर्तन आएको छ रे । सुरजको परिवारलाई सहयोग गर्ने धेरै हातहरु छन । सानो, अनि अध्यारो कोठामा सुरजले आफुले पाएका पुरस्कारलाई पनि राम्रोसँग राख्ने ठाँउपनि छैन । हालै लिगमा पाएका पुरस्कार होस या उनले आफ्नो करियरमा जितेका उपाधि हुन, त्यसलाई त्यतिकै थन्क्याएर राखिएको थियो ।
दुई छोरालाई आफुले सक्नेगरि हुर्काएकी रिताको दिन चर्या विहान उठेदेखि अध्यारो नहुँदासम्म टुडिखेलमा नै वित्ने गर्छ । सवेरै उठेर छोराहरुलाई खाना बनाएर आफुपनि धेरै थोरै खाएर नांग्लोको पसल बोकेर हिड्ने गर्छिन । लगन टोलबाट करिव १० मिनेटमा उनी टुडिखेल पुग्छिन र आफ्नो दैनिक काम सुरु गर्छिन । उनले करिव करिव दुई दशकदेखि गर्दै आएको त्यो कामबाट कहिलेपनि हिचकिचाइनन् पनि र कसैबाट डरिनन्पनि ।
सुरजलाई बाल्यकालबाट नै देखेका र उनको परिवारको संघर्षलाई आफ्नो आँखा अगाडी नै देखेकाहरु पनि अहिलेको अवस्थामा पुग्दा निकै खुसी ठान्छन । आफ्नो घरको अवस्था देखेर सुरज आफ्ना साथीभाईलाई अहिलेसम्म घरमा ल्याएका छैनन् । भनिन्छ, जसले जीवनको संघर्ष बुझ्छ, त्यसले समयको महत्व बुझ्छ । सुुरजको परिवारले यो मात्र होइन, जीवनमा बाच्नका लागि खाएका हरेक हन्टरबाट धेरै कुरा सिकेका छन । त्यसैलेपनि छाप्रोको जीवन नै किन नहोस त्यसबाट पनि ठूलो खुसी खोजिरहेका छन ।