शुक्रबार १४ माघ २०७८

बेइजिङ। चीनमा शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखेको पाइएको छ।शंकास्पद संक्रमितलाई मध्यरातमा घरबाट निकालेर बसमा कोचेर टिनका बाकसभित्र राखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन्।कोभिडविरुद्ध शून्य सहनशिलता अप्नाएको चीनको पछिल्लो कदमलाई कतिपयले आलोचनासमेत गरेका छन्। हिउँदे ओलम्पिक नजिकिँदै जाँदा जिरो कोभिड पोलिसीअन्तर्गत सरकारले कठोर नियम बसालेको छ। जसका कारण अहिले लाखौं शंकास्पदलाई क्वारेन्टिनमा राखिएको छ।

काठका बेड रहेका यी टिनका बाकसभित्र शौचालयको पनि व्यवस्था छ। शंकास्पद व्यक्तिलाई कम्तिमा एक सातादेखि बढीमा दुई साताभित्र यस्ता बाकसभित्र राखिएको छ।

प्रहरीले रातरात मानिसहरुलाई घरबाट उठाएर यस्ता क्वारेन्टिन स्थलमा लैजाने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ। चीनमा पछिल्लो समयमा ट्रयाक र ट्रेस एपमार्फत शंकास्पद संक्रमितको पहिचान गरी उनीहरुलाई चाँडोभन्दा चाँडो क्वारेन्टिन स्थलमा लगिएको छ।

चीनमा करिव २ करोड मानिसहरु घरभित्रै क्वारेन्टिनमा बसेका छन्। उनीहरुलाई दैनिक उपभोग्य सामाग्री किन्न बाहिर जानसमेत प्रतिबन्ध लगाइएको छ।

लकडाउनका कारण अस्पताल जान नपाउँदा गत साता एक गर्भवती महिलाको शिशु खेरा गएको थियो। सो घटनापछि केही मानिसहरुले सरकारले अप्नाउँदै आएको कोभिडविरुद्ध शून्य सहनशिलताको विरोध गरेका थिए।


Last Updated on: January 14th, 2022 at 6:02 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया