शुक्रबार ०५ आश्विन २०८०

देशब्यापी लकडाउनले गरीबको घरमा चुलो बल्न पाएको छैन । स्थानीय सरकारहरु आफ्ना नागरीकका लागि राहतका बिभिन्न कार्यक्रमहरुसहित घरघर पुगिरहेका छन् । यस्तै प्रयास इटहरी उपमहानगरपालिकाले पनि गरेको छ । उसले इटहरी ३ स्थित सुनौलो टोलमा एक सय १२ घर परिवारलाई राहतस्वरुप चामल, दाल लगायतका खाद्यान्न वितरण गरेको छ । तर, उपमहानगरपालिकाले वितरण गरेको राहत भनिएपनि चामलको बोराभित्र नेकपा एमालेको चिठ्ठी भेटिएपछि हंगामा भएको छ ।

इटहरी वडा नं ३ का वडाध्यक्ष बालकृष्ट विष्टका अनुसार उपमहानगरपालिकाले वितरण गरेको राहतमा व्यापक राजनीतिकरण भएको हो । उनले भने, ‘राहत वितरणका लागि बोलाइएकाले म पनि सहभागी भएको थिएँ, उपमहानगरपालिकाले वितरण गर्ने भनेको राहतमा एमालेको चिठ्ठी भेट्टायौँ ।’ उनका अनसार चिठ्ठी भेटिएपछि विवाद समेत भएको थियो ।

चिठ्ठीमा भनिएको छ ‘कोभिड १९ को दोस्रो लहरबाट त्यस टोलबासीहरु पनि संक्रमित भएको खबर सुन्दा हाम्रो पार्टी नेकपा एमाले इटहरी उपमहानगर कमिटि अत्यन्तै दुखी छ ।’ एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षरमा जारी चिठ्ठीमा पहिलो चरणको राहत स्वीकार गर्नका लागि भन्दै सम्बोधन गरिएको छ ।

यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने एमालेले उपमहानगरपालिकालाई उपलब्ध गराएको राहत सामग्री सुनौलो टोलमा वितरण गरिएको प्रतिक्रिया दिईन् । नगरपालिकालाई राहत दिइसकेपछि नगरपालिकाको हुन्छ कि पार्टीको भन्ने प्रश्नमा गौतमले राजधानीसँग भनिन्, ‘नगरपालिकालाई दिइसकेपछि नगरपालिकाको नै हुन्छ, हामीले नगरपालिकाकै ट्याक्टरमा लगेर पनि वितरण गर्यौँ, पार्टीको चिठ्ठी रहेको थाहै भएन ।’

अहिले इटहरीकी उपमेयर गौतमले एकलौटी हिसाबमा काम गर्दै आएको गुनासो छ । इटहरी कांग्रेसका नगरसभापति हेमकर्ण पौडेलले भने यसबेला जनता बचाउने अभियानमा सबै एक हुनुपर्ने भएपनि राजनीतिकरण गर्नु अत्यन्त निन्दनीय रहेको बताएको समाचार इटहरीबाट विवेक विवश रेग्मीले राजधानी दैनिकमा लेखेका छन् ।


Last Updated on: May 26th, 2021 at 7:15 pm
६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया