मंगलबार १२ मंसिर २०८०

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपति सीको घोषणा
May 26, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोज अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । बुधवार चिनियाँ राष्ट्रपति सी र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ताका क्रममा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यान्छीले नेपाललाई चीनले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिइन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग बुधवार टेलिफोन संवादमार्फत कोरोना विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधवार दिउँसो राष्ट्रपति सीसँग टेलिफोन संवादमार्फत नेपाललाई खोप उपलब्ध गराउन आग्रह गरेकी राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले लोकान्तरलाई जानकारी दिए ।

आधा घण्टाभन्दा लामो टेलिफोन संवादका क्रममा राष्ट्रपति भण्डारीले खोप खरिद प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेकी हुन् ।‘राष्ट्रपतिज्यूले चिनियाँ राष्ट्रपति सीसँग टेलिफोनमा कुरा गरेर खोपका लागि सहजीकरण गर्न आग्रह गर्नुभएको छ, उताबाट सकारात्मक जवाफ आएको छ,’ सञ्चार विज्ञ ढकालले लोकान्तरसँग भने ।

कुराकानीमा बुद्ध जयन्तीको शुभकामना आदानप्रदान भएको राष्ट्रपति ढकालले लोकान्तरलाई जानकारी दिए । ‘राष्ट्रपतिज्यूले नेपालीको जीवन रक्षाका लागि खोप नै प्रभावकारी उपाय भएको र चीनसँग खोप खरिद गर्न सरकार इच्छुक रहेको आग्रह गर्नुभयो । चिनियाँ राष्ट्रपति सीले नेपाल हाम्रो असल र निकट मित्र रहेको, सुखदुःखमा सँगै रहेका छौं, कोभिड विरुद्धको साझा लडाइँमा जे जति भए पनि सहयोग गर्छाैं भन्नुभएको छ,’ ढकालले भने ।

दुवैबीच अपराह्न ४ बजेदेखि ४ः४० बजेसम्म कुराकानी भएको थियो । यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप निःशुल्क उपलब्ध गराएको थियो ।

राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्र पठाएर खोपका लागि सहजीकरण गर्न आग्रह गरेकी छन् ।

बुधवार मात्र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका नेतासँग अन्तर्क्रिया गरेको थियो । अन्तर्क्रिया कार्यक्रममा नेपालका नेताहरूले चीनबाट थप खोप आउने अपेक्षा राखिएको बताएका थिए ।


Last Updated on: May 26th, 2021 at 7:26 pm
५८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया