सोमबार १९ मंसिर २०७९

देश छाडेर विदेश गएपछि कमाऔँ, दुई चार लाख रुपैयाँ त हातैमा लिएर फर्कौँ भन्ने हरेकको सपना हुन्छ । तर कहिलेकाहीँ ती सपनाहरु यसै बिलाएर जान्छन्, जब विदेशमा सोच्दै नसोचेको परिस्थितिको सामना गर्नुपर्छ ।

विदेशमा यस्तै समस्याको सामना गर्नुपर्यो रौतहटको देवाही गोनाही नगरपालिका–३ का शंकर पटेलले पनि । परिवारको खुसीका लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका पटेललाई त्यहाँ पन्क्राइज रोग लाग्यो । रोग लागेपछि उहाँ नेपाल फर्किनुपर्यो । परिवारको जिम्मेवारी काँधमा बोकेर विदेश जानुभएका पटेल आफै बिरामी पर्नुभयो । निकै खर्च लाग्ने बिराम भएकाले अहिले शंकरको परिवारलाई उनको उपचार कसरी गराने भन्ने कुराले पिरोलेको छ ।

साहुसँग ऋण काढेको डेढ लाख रुपैयाँ दलालको हातमा बुझाउँदै २०७३ को असोजमा शंकर मजदुर भिसामा मलेसिया जानुभयो । मलेसियाको शेन्ङग जियङ इन्टरप्राइजेज एसडीएन बीएचडी उद्योगमा काममा लाग्नुभयो । त्यहाँ पसिना बगाएर तागतले भ्याएजति परिश्रम गर्नुभयो उहाँले । महिना–महिनामा घरमा पैसा पठाइरहनुहुन्थ्यो । घरमा खुसी छाउँदै थियो । तर त्यो खुसी लामो समय टिक्न पाएन ।

मलेसिया गएको तीन वर्ष पुग्नै लाग्दा एक दिन अचानक उहाँको पेट दुख्यो । काम गर्न गाह्रो हुन थाल्यो । घर फर्किन खोज्नुभयो, तर कम्पनीले जान दिएन । पीडामै पनि जसोतसो उहाँले ४ महिना कटाउनुभयो । त्यो बीचमा पेट दुखाई कम गर्ने विभिन्न औषधि खाइरहनुभयो । तर त्यसले बीसको उन्नाइस पनि भएन । झन्झन् समस्या बढ्दै पेट दुख्ने, पेट पोल्ने, पिसाब फेर्न समस्या हुन थाल्यो । काम गर्नै नसक्ने अवस्था भएपछि उहाँले मलेसियाकै पकर सुलतान फकिमा अस्पतालमा गएर जँचाउनुभयो । अस्पतालमा जाँच गराउँदा प्यान्क्रियाटिक रोग भएको भन्ने रिपोर्ट आयो । उहाँ छाँगाबाट खसेझैँ हुनुभयो । मनमा सजाएर राखेका सपनाहरु काँचको गिलास फुटेझैँ चकनाचुर भए । सपना हो कि विपना उहाँ बेहोसीझैँ हुनुभयो । पहिले बिदा नदिएको कम्पनीले अस्पतालको रिपोर्ट देखेपछि उपचारका लागि अस्पतालमा नै भर्ना गरी दिए । पिसाब अनियन्त्रित हुन थालेपछि पाइप लगाइयो । करिब छ महिनासम्म मलेसियामा नै कम्पनीले र्न उपचार गराइदियो । तर उपचार गर्न थालेको छ महिनासम्म पनि निको नभए पछि शंकरको परिवारले कम्पनीसँग उहाँलाई स्वदेश फर्काइदिन आग्रह गरे । अन्ततः मलेसिया गएको करिब साढे तीन वर्ष पछि वि.स. २०७७ को माघमा बिरामी अवस्थामै शंकर नेपाल आइपुग्नुभयो । त्यतिबेलासम्म उहाँको श्रम स्वीकृतिको म्याद सकि सकेको थियो ।उपचार गर्न आर्थिक समस्या
शंकर घरको जेठा छोरा हुन् । परिवारमा अरु हजुरआमा, आमा–बुवा, श्रीमती, दुई भाइ तथा एक छोरा छन् । परिवारको जिम्मेवारी बोकेर, घरको आर्थिक अवस्था उकास्ने सपना बोकेर विदेश जानुभएका शंकर अहिले आफ्नै उपचारको खर्च जुटाउन हारगुहार मागिरहनुभएको छ । घर बार चलाउन कठिन भएको बेला छोराको उपचारका लागि थप आर्थिक भार परिवारमाथि थपेको छ । घरमा उहाँकी आमा छोराको अवस्था देख्दा मनमा बेचैनीको महासागर उर्लिने बताउनुहन्छ ।वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने संस्था तथा नेपाल सरकार कतैबाट कुनै प्रकारको सहयोग पनि नपाएको शंकरकी आमा गुनासो पोख्नुहुन्छ ।

‘उपचार गर्नमा भएको जग्गा पनि धितो राखेर ऋण लिनुभएको छ । ऋण लिनको लागि अब आफन्तहरु पनि कोही बाँकी छैनन्’, आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, ‘उपचार तथा क्षतिपूर्ति प्राप्त नभएको र परिवारको आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारका लागि अब चन्दा भए पनि सङ्कलन गर्नु पर्ने बाध्यता भएको छ ।’

जानकारी नहुँदा सरकारी सेवाबाट वञ्चित
वैदेशिक रोजगारीमा गएकाहरु यदि श्रम अवधिभित्रै दुर्घटना भएमा, ज्यान गएमा वा बिरामी भएमा वैदेशिक रोजगार बोर्डबाट राहत तथा क्षतिपूर्ति पाइन्छ । नेपाल फर्केको भए पनि एक वर्षभित्र बोर्डमा निवेदन दिइसक्नुपर्छ । तर शंकरको परिवारलाई भने यसबारे थाहा नहुँदा सरकारी सेवाबाट पनि वञ्चित हुनुपर्यो । शंकर तथा उहाँको परिवारले आर्थिक सहयोगको लागि वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन, नगरपालिका सबै ठाउँ पुग्नु भयो । तर कहीँ कतैबाट सहयोग मिलेन ।

शंकर केही समयदेखि काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहनुभएको थियो । तर अस्पतालमा बसिरहँदा धेरै खर्च हुने भएपछि डाक्टरको सल्लाहअनुसार उहाँ औषधि बोकेर रौतहट फर्किनुभयो । डाक्टरले शल्यक्रिया गर्नुपर्ने भनेका छन् । तर आफूसँग सामान्य औषधि किन्न पनि पैसा नभएको बेला शल्यक्रिया कसरि गर्ने भनेर शंकर चिन्तित हुनुहुन्छ ।

‘आफूले सकेको बेला सरकारको रेमिट्यान्स बढाउनमा सहयोग गरेकै हो, तर आफै केही गर्न नसक्ने भएपछि आफन्त त के, राज्यले नै बिर्सिंदोरहेछ’, आँसु पुछ्दै शंकर भन्नुहुन्छ, ‘जब रोग लागेर बाँच्नु न मर्नुको दोसाँधमा हुन्छौँ तब सरकारले कानुन, श्रम स्वीकृतिको समय समस्या देखाई टारिदिन्छ ।’

आफ्नो छोराको पीडा देखेर शंकरकी आमालाई पनि सहिनसक्नु हुन्छ । कसैले आफ्नो छोरालाई उपचार गरेर ठिक पारिदिए भगवान ठानेर पूजा गर्ने बताउनुहुन्छ, शंकरकी आमा ।

‘मसँग पैसा भएको भए उपचार नगराइ पीडामा राख्दिन थिएँ’ उहाँ विलौना पोख्दै भन्नुहुन्छ, ‘मेरो छोराको अवस्था दिनदिनै नाजुक हुँदै छ, म भने उसको पीडा टुलुटुलु हेरिरहेकी छु, कसैले मेरो छोराको उपचार गरिदिए देवता नै मान्ने थिएँ ।’


Last Updated on: February 24th, 2022 at 1:01 pm
३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया