
काठमाडौं । गायक शिव परियारले अभिनेता पल शाह स्क्याण्डलका विषयमा आफ्नो धारणा राखेका छन् । गायक परियारले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् पल र एक गायिकाबिचको स्क्याण्डलले ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला ।
तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’ भनेर लेखेका छन् ।
फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गायक परियार अगाडी लेख्छन् ‘कलाहरुको पनि कला ललितकला, त्यो भित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ’ ।
गायक परियारले भनेका छन् पल र एक गायिकाको छरपस्ट अडियोहरुले कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गरायो । दुखेको पोख्दै उनले लेखेका छन् ‘खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो’ ।