शुक्रबार १६ मंसिर २०७९

काठमाडौं, फागुन १४ । कञ्चनपुर बेलौरीका माधव भण्डारी स्नातक तहको अध्ययन गर्दा नै एमबीबीएस, फरेस्ट्री, कृषिलगायत स्नातक तहमा प्राविधिक विषय पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा तयारी कक्षामा पढाउने गर्थे ।

त्यतिबेला उनी २० वर्षको मात्र थिए । तयारी कक्षामा पढाउँदै आफू चितवनको रामपुर कृषि क्याम्पसमा पढथे । यही क्रममा उनले साथीसँग मिलेर चितवनमै ‘सेन्टर फर एग्रिकल्चर एजुकेसन (केयर)’ नामकोे इन्स्टिच्युट खोले । इन्स्टिच्युटलाई विद्यार्थीमाझ प्रवेश परीक्षा कक्षा चलाउने रोजा संस्था पनि बनाए ।

“कृषि विषय पढेँ । यही क्षेत्रमा अनुसन्धान पनि गरेँ । केही समयपछि इन्स्टिच्युटकै नाम जोडेर ‘केयर फार्म’ नामको कुखुरा र बाख्रा पाल्ने संस्था पनि स्थापना गरेँ मेघौलीमा,” भण्डारीले भने । जीवनलाई व्यवसायतिर नै मोड्ने योजनाका साथ उनले यो फार्म खोलेका थिए । अहिले पनि त्यहाँ प्रशस्त कुखुरा र बाख्रा छन् तर ट्युसन सेन्टर चलाउनुभन्दा फार्म चलाउन उनलाई निकै अप्ठ्यारो प¥यो, झन्झटिलो सरकारी प्रशासनिक तथा नीतिगत व्यवस्थाले ।

पढाइमा आफैँ अब्बल भएकाले पनि इन्स्टिच्युट चलाउन उनलाई समस्या भएन तर जेनतेन दुःखसुख झेल्दै फार्मको सुरुवात गरे पनि सधैँजसो बल्झिरहने प्रशासनिक समस्याले उनको मनमा नयाँ सोच आयो, “यो झन्झटिलो पद्धतिलाई थोरै मात्रै परिवर्तन गर्न आफैँ सरकारी सेवामा जागिर खानुपर्छ ।” यही भावनाका साथ उनले अरूलाई पढाउँदै आफैँ पनि लोकसेवा आयोगबाट लिइने परीक्षाको तयारी गर्न थाले ।

लोकसेवा आयोगले परराष्ट्र सेवाका लागि माग गरेको अधिकृत पदका लागि उनले पहिलो पटक आवेदन दिए। त्यतिखेर खुला प्रतिस्पर्धाबाट छवटा पद मात्रै पूर्ति गर्न लागिएको थियो । तैपनि परीक्षामा सहभागी भए तर उक्त परीक्षामा उनको नाम निस्केन । पहिलो प्रयासमा असफल भए पनि उजले हरेस खाएनन् ।

छवटा पदका लागि दिएको परीक्षामा अनुत्तीर्ण हुँदैमा सधैँका लागि असफल भइयो भन्न मिल्दैन भन्दै उनी यसपछि झन् दृढविश्वासका साथ परीक्षाको तयारीमा जुटे। तयारी क्रममा लोकसेवा परीक्षामा दोस्रो पटक परीक्षा दिए । यो परीक्षामा उत्तीर्ण मात्रै भएनन्, करिब चार हजार परीक्षार्थीलाई उछिन्दै उनी सबैभन्दा पहिलो नम्बरमा पर्न सफल भए । गोरखापत्र दैनिकबाट


Last Updated on: February 26th, 2022 at 10:42 am
१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया