
काठमाडौं। युक्रेनमा विगत ५ दिनदेखि जारी युद्धले यहाँका जनताको जीवन तहसनहस पारिदिएको छ । यहाँका मानिसहरु ज्यान बचाएर पोल्याण्ड र अन्य छिमेकी देशमा पुगिरहेका छन् । तर, एक परिवार यस्तो पनि छ जो एक युद्धबाट बचेर युक्रेन पुगेका थिए तर उनीहरुले यो नयाँ युद्धका कारण युक्रेन पनि छोड्नु परेको छ ।
अफगानिस्तानमा तालिबानको कब्जा भएपछि त्यहाँबाट भागेका अजमल रहमानीलाई लागेको थियो कि उनी युक्रेनमा शान्तिपूर्वक बाँच्न पाउनेछन् । तर, यही हप्ता उनी आफ्नो परिवारसहित फेरि भाग्नुपर्यो । यस पटक रुसी बम विष्फोटका कारण उनी युक्रेन छोडेर पोल्याण्ड भागेका छन् ।
रहमानीले पोल्याण्ड प्रवेश गरेलगत्तै समाचार एजेन्सी एएफपीसँग भने ‘म एउटा युद्धबाट भागेर अर्को देशमा आएको हुँ र यहाँ अर्को युद्ध सुरु भयो । धेरै दुर्भाग्यको कुरा हो ।’ ७ वषृकी छोरी मारवा, ११ वर्षका छोरा उमर र पत्नी मीनालाई लिएर अजमलले युक्रेनी पक्षमा ग्रिडलकका कारण ३० किलोमिटर पैदल हिँड्नु पर्यो । पोल्याण्डको मेड्यका यो परिवार अन्य शरणार्थीहरुको साथमा एक बसको प्रतिक्षा गरिरहेको थियो जसले उनीहरुलाई नजिकैको सहर प्रेजेमिस्ल लैजानेछ ।
४ दिनको संघर्षको क्रममा हजारौं मानिसहरु छिमेकी देशहरु, मुख्य गरी पोल्याण्ड, हंगेरी र रोमानिया भागेका छन् । अधिकांश शरणार्थी युक्रेनी छन् । यसका अलावा यसमा अफगानिस्तान, कंगो, भारत र नेपालसहित अन्य क्षेत्रका विद्यार्थी र प्रवासी श्रमिक छन् । लगभग ४० वर्षका रहमानीले बताएअनुसार उनले काबुल विमानस्थलमा नेटोको लागि १८ वर्षसम्म काम गरेका थिए ।
उनले अमेरिकी सेना फर्किनुभन्दा ४ महिना पहिले देश छोड्ने फैसला गरेका थिए किनकि उनलाई धम्की आइरहेका थिए र उनी यति डराएका थिए कि उनले आफ्ना छोराछोरीलाई स्कुलबाट निकालेका थिए । रहमानीले भने ‘त्यसअघि मेरो अफगानिस्तानमा राम्रो जीवन थियो । मेरो आफ्नो घर थियो, आफ्नै कार थियो, राम्रो तलब थियो । उनले आफ्नो कार र घर बेचेर भाग्नुपरेको सुनाउँदै भने ‘मेरो लागि मेरो पारिवारिक जीवनभन्दा माथि केही छैन ।’
उनले अफगानिस्तान छोड्नको लागि भिसा पाउन निकै प्रयास गरेका थिए । उनले युक्रेन जाने निर्णय गरेका थिए किनकि यो एकमात्र देश थियो जहाँ उनलाई रोक्ने कोही थिएन । रहमानीका अनुसार युक्रेन गएपछि उनले ओडेसामा घर लिएका थिए तर ४ दिन पहिले रुसले आक्रमण सुरु गरेपछि सबैथोक छोडेर ११ सय किलोमिटर टाढा सीमासम्म भाग्नुपर्यो ।