सोमबार १९ मंसिर २०७९

ठमाडौं । बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘‘गत नौ गतेदेखि वनमा डार्ट राखेका थियौँँ । त्यसयता बाघको निगरानी गरिरहेका थियौँ । गएराति डार्ट लाग्यो । त्यसपछि बिहान साढे ९ बजे खोरमा हालेर नियन्त्रणमा लियौँ,” उनले भने, “हामी अहिले बाँके राष्ट्रिय निकुञ्जमा बुझाउन आएका छौँ । राष्ट्रिय निकुञ्जले बाघलाई कहाँ राख्ने भन्ने ठेगान लगाउने छ ।”

‘‘हालै बाघको आक्रमणबाट पाँचजनाको मृत्यु भयो । दुई जनालाई घाइते बनायो । घाइतेको अहिले पनि उपचार भइरहेको छ । पहिलेदेखि हामीले बाघलाई नियन्त्रणमा लिनका लागि धेरै प्रयास गरेका थियौँ । त्यतिबेला सम्भव भएन,” उनले भने ।

अहिले विभिन्न निकायको सहयोग र समन्वयमा बाघलाई नियन्त्रणमा लिन सकिएको उनको भनाइ छ । खड्काका अनुसार पछिल्लो समय बाघले स्थानीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको थियो ।

बाघले राप्तीसोनारी गाउँपालिका वडा ४ र ६ का स्थानीयलाई पटक पटक आक्रमण गरेको थियो ।

 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार साहले बाघ अहिले राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको जानकारी दिए । ‘‘बाघ निकुञ्जको नियन्त्रणमा छ । यसलाई कहाँ राख्ने भन्नेबारे १ घण्टामा निर्णय गर्छौँ,” उनले भने ।

 


Last Updated on: March 3rd, 2022 at 11:34 am
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया