
‘आठ लाख तिरेर युक्रेनमा म’र्न पो आइएछ कि जस्तो लाग्न थालेको छ’ भन्दै रुन्छन नेपाली युवायुवतीहरु
फेब्रुअरी २४ को बिहान पौने ६ बजे युक्रेनको लुहाक्समाथि रुसले प्रहार गरेका बम झर्न थाले । त्यो बिहान दाङका ईश्वर पोखरेलसहित ६ नेपाली विद्यार्थी लुहाक्सको तारसस्थित सेप्चेन्को विश्वविद्यालयको होस्टलमा सुतिरहेका थिए । बमको आवाजले उनीहरूलाई झस्कायो ।
‘होस्टलको वार्डेनले कोठाबाट निस्केर बंकरमा जान भने, हामी अगाडि जे–जति कपडा भेट्यौं, त्यो ब्यागमा हालेर निस्कियौं, तीन मिनेटको दूरीमा रहेको कलेजमा पुग्यौं,’ ईश्वरले फोनमा भने । होस्टलमुनि लुक्न मिल्ने बंकर थिएन । कलेजमुनि भने लुक्ने बंकर बनाइएको छ । उनीहरूलाई वार्डेनले बंकरमा लगे । कलेजवरिपरि घर भएका बासिन्दा पनि बालबच्चा लिएर त्यहीं आए । ईश्वरसँगै दाङकै राजन केसी, पर्शुराम डाँगी, कमल पोखरेल, किशोर पोखरेल, अरुण पोखरेल र सुर्खेतका दीपकसिंह सुनुवार छन् । उनीहरू पहिलो दिन बिहान ६ बजेदेखि अर्को दिन ६ बजेसम्म त्यहीं बसे । ‘मरिन्छ कि बाँचिन्छ भनेर त्रसित छौं,’ उनले भने ।
उनीहरू शनिबार साँझसम्म बंकरमै छन् । बाहिर रुसी सेनाले बम झारिराख्दा उनीहरूलाई आफ्नै टाउकोमाथि झरिरहेको जस्तो लाग्छ । ‘बम र गोली वर्षाको आवाज यति आउँछ कि बाहिरको संसार नै ध्वस्त भएझैं लाग्छ,’ उनले भने ।ईश्वर रुसले आक्रमण गर्नुभन्दा १४ दिनअगाडि एकवर्षे भाषा अध्ययनका लागि युक्रेनपुगेका थिए ।
कलेज जान सुरु गरेको केही दिनमात्रै भएको उनले बताए । ‘हामी आउने बेला सीमाबाट रुसका ट्यांकर फिर्ता भए भन्ने सुनेका थियौं, वार नै हुने भए किन भिसा दिन्थेजस्तो लागेको थियो,’ उनले भने, ‘दुई दिनअघि कलेजलाई सोध्दा पनि यति छिट्टै युद्ध हुन्छ भन्ने थिएन । रुसको आक्रमण भूकम्प आएजस्तै भयो । आठ लाख तिरेर युक्रेनमा मर्न पो आइएछ कि जस्तो लाग्न थालेको छ ।’
बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । ‘बिहान हुनासाथ रुसले बम र गोली प्रहार गर्न थाल्छ, गोली आफूतिरै आउला, बम आफ्नो भवनमा झर्ला कि भनेर जतिखेर पनि त्रास भइरहन्छ,’ उनले भने, ‘सुनसान भएजस्तो लागेर खाना बनाउन होस्टल आउँदा कहिले पकाउँदा पकाउँदै छोडेर भाग्नुपर्छ, कहिले पस्किएको खाना छोडेर हिँड्नुपर्छ ।’
उनीहरूले लुहाक्स छोड्न सकेका छैनन् । त्यहाँबाट स्लोभाकिया र पोल्यान्डको बोर्डर जाने लभिभ पुग्न २ सय १० किलोमिटर टाढा रहेको खर्किभ रेल स्टेसन पुग्नुपर्छ । सवारीसाधन केही चलेका छैनन् । ‘ट्याक्सीलाई खर्किभसम्म लगिदेऊ, एक जनाको दुई सय डलरसम्म तिर्छौं भन्दा पनि मानेनन्, हिँडेर त्यो ठाउँमा पुग्न सकिँदैन,’ दीपकले भने । खर्किभबाट रेल चढ्न पाए मात्रै लभिभ पुग्न सहज हुने उनले बताए ।
उनले भने, ‘सम्पर्कमा आएजति सबैले निस्क भन्छन्, फुत्त निस्केर हिँड्ने अवस्था छैन ।’ उनीहरूले लुहाक्सबाट बाहिर निस्कनका लागि प्रहरीको सहयोग खोजेका थिए । प्रहरीले उल्टो अफगानीहरूलाई पनि लिएर बंकरमा जाऊ भनेर पठाइदिए । उनीहरूसँग भएको खाद्यान्न पनि रित्तिन थालेको छ । पाउरोटी र चिप्सकै भरमा दिन कटाइरहेका छन् । ‘७ दिनपछि शनिबार बिहान बजारमा गएका थियौं, पसलहरू खाली छन्,’ किशोरले भने ।