सोमबार ३० साउन २०७९

मस्को । रुसी फौजले सोमबार आफूले युद्ध विराम गर्ने र मानवीय उद्धार मार्गहरू खोलिदिने बताउँदै युक्रेनका सहरहरूका आवासीय क्षेत्रहरूमा व्यापक बमबारी र रकेट प्रहार कार्यलाई निरन्तरता दिइरहेको छ । रुस र युक्रेनबीचको पहिलो र दोस्रो शान्तिवार्ता विना निष्कर्ष टुङ्गिएका कारण सोमबार नै तेस्रो चरणको वार्ता सुरु गर्ने योजना बनाइएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेन समक्ष आफ्नो सैनिक गतिविधि रोक्ने, तटस्थ मुलुक बनेर नेटो र ईयूमा प्रवेश गर्ने स्थिति रोक्न संविधान नै परिवर्तन गर्ने, क्रिमियालई रुसी भू–भागको मान्यता दिने र पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कको स्वाधिनतालाई मान्यता दिनेजस्ता मागहरू अघि सारेको जानकारी दिएका छन् । जुन मागहरू युक्रेनले सहजै मान्ने देखिँदैन ।

रुसले युक्रेनी राजधानी किभ, दक्षिण बन्दरगाह सहर मारिउपोल अन्य सहर खार्किभ र सुमी छाड्न युक्रेनी जनतालाई सुरक्षित मार्ग खोलाइदिन युद्ध विराम गर्ने वाचा गरेको थियो ।

युक्रेनका रक्षा सचिव एलेक्सी दानिलोभले भनेका छन्, “रुसले ग्रिन करिडोरका द्वार रोकी मानवीय उद्धार सामग्रीहरूको आपूर्ति हुन नदिएर सहमतिका कुराहरू उल्लंघन गरेको छ । उल्टो यस्तैबेला बरु रुसले स्थानीय वासिन्दा र कब्जा गर्नेहरूबीच हाँसीखुसी भेटघाट भइरहेको झुठो तस्बि सार्वजनिक गरेको छ ।”

युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले मानव विस्थापन गर्ने केही मार्गहरूले वास्तवमा सर्वसाधारणलाई रुस वा त्यसको गठबन्धन मुलुक बेलारुसतर्फ लाने भन्दै तिनीहरूलाई अस्वीकार गरेकी छन् ।

यसैबीच इटालीका प्रधानमन्त्री मारियो द्राघीले भनेका छन्, “आशा छ, नयाँ शान्ति वार्ताले युद्धको अन्त्य गर्ने छ । रुसले युक्रेनले आत्मसमर्पण नगरुन्जेल आक्रमण गरिरहने छ । सम्भवत: रुसले त्यहाँ आफूलाई पायक पर्ने सरकार बनाउने छ र प्रतिकारलाई दबाउने छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी मामिलाबारे विकसित पछिल्ला घटनाक्रम समबन्धमा फ्रेन्च समकक्षी इमान्युअल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज र वेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भिडियोमार्फत गहन छलफल गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा निकायका महानिर्देशक राफाएल मारियानो ग्रोस्सीले गत साता कब्जा गरिएको युक्रेनको जापोरिझझ्या आणविक भट्टीमाथि रुसी फौजले अधिकार जताउन लागेकोमा चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच एकजना ईयूका अधिकारीले सोमबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १७ लाख नाघेको जनाएका छन् ।


Last Updated on: March 9th, 2022 at 11:33 am
२१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया