बुधबार २५ साउन २०७९

मस्को। रुसले युक्रेनमा आक्रमण बन्द गर्न आफू तयार भएको जनाएको छ। यद्यपी रुसले आक्रमण बन्द गर्नपूर्व युक्रनले आफ्ना सर्तहरु मान्नुपर्ने जनाएको छ।
यसैहप्ताको सोमबार मात्र रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए,‘हामी तत्काल युक्रेनमा आक्रमण बन्द गर्छौं तर युक्रेनले केही सर्तहरुको पालना गर्नुपर्छ।’

पेस्कोभका अनुसार युक्रेनले तत्काल रुसी सेनाविरुद्ध आक्रमण बन्द गर्नुपर्छ, संविधानमा बदलाव ल्याउनुपर्छ, तटस्थता स्थापना गर्नुपर्छ, क्राइमियालाई रुसी क्षेत्रको रुपमा मान्यता दिनुपर्छ र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनुपर्छ।

युक्रेनमा आक्रमण गरेपछि रुसले पहिलोपटक स्पष्ट रुपमा आफ्नो बयान सार्वजनिक गरेको हो।यी सर्तहरु मानेको खण्डमा मात्र रुसले युक्रनमा आक्रमण रोक्ने विषय युक्रेनलाई पहिल्यै ज्ञात भएको पेस्कोभको भनाइ छ।

सो क्रममा रुसले युक्रेनको एक इन्च जमिन पनि नचाहिएको पेस्कोभले बताए। उनका अनुसार युक्रेनले विदेशी गठबन्धनलाई युक्रेनमा घुस्न दिन बन्द गर्नुपर्छ।

वास्तवमा युक्रेनको संविधानमै युक्रेन नेटो गठबन्धनमा संलग्न हुनेछ भनेर उल्लेख गरिएको छ। यो संविधानमा बदलाव ल्याएर युक्रेनले तटस्थताको सिद्धान्त पालना गर्नुपर्ने रुसको प्रमुख सर्त हो।

युक्रेन पूर्व रुस अर्थात् सोभियत संघको राज्य थियो। सन् १९९१ मा सोभियत संघको पतनपछि युक्रेन अलग राष्ट्र बनेको थियो।रुसले युक्रेन र पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई रुचाउँदैन। सोही कारण यतिबेला युक्रेनमा रुसले आक्रमण गरेको हो।

रुसले स्पष्ट रुपमा नेटोलाई युक्रेन सो संगठनमा आवद्ध नहोस् भन्ने ग्यारेन्टी चाहिएको बताएको थियो। तर नेटोले कुनै पनि युरोपेली राष्ट्र नेटोमा आवद्ध हुनसक्न भनेपछि रुसले युक्रेनमा हमला सुरु गरेको हो।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया क्षेत्र कब्जा गरेको थियो। सो क्षेत्रलाई पनि युक्रेनले रुसी क्षेत्र मान्नुपर्ने रुसको सर्त छ। यस्तै गत महिना रुसले युक्रेन सरकारको विरुद्धमा रहेका दुई युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको घोषणा गरेको थियो। यी दुई राज्यलाई पनि युक्रेनले स्वतन्त्र क्षेत्र मान्नु पर्ने रुसको भनाइ छ। बीबीसीको सहयोगमा


Last Updated on: March 10th, 2022 at 12:33 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया