
सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपिएफ अस्पताललाई पाठेघर चेकजाँच गर्ने मेसिन उपलब्ध गराएको छ । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संघकी केन्द्रीय अध्यक्ष सरिता कंडेल खनालले अस्पताललाई उक्त मेसिन हस्तान्तरण गरेकी हुन् । महिलाहरू पाठेघर सम्बन्धी विभिन्न समस्या लिएर अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।
अस्पताल आउने महिला बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्धेश्यले सशस्त्र प्रहरी परिवार महिला संघले पाठेघर जाँच्ने मेसिन उपलब्ध गराएको अध्यक्ष खनालले बताइन् । जनचेतनाको अभावले महिलाहरू पाठेघर सम्बन्धी समस्या लुकाएर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘रोग लाग्नु बाध्यता हो, तर रोग लुकाएर बस्नु अर्को समस्या हो,’ अध्यक्ष खनालले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि महिलाहरूले जनचेतनाको अभावले यस्तो समस्या झेल्नुपर्ने बाध्यतामा छन् ।’
महिला स्वास्थ्य सम्बन्धी विभिन्न काम गर्दै आएको संघले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा करिब १६ लाख मूल्य बराबरको पाठेघर जाँच्ने मेसिन उपलब्ध गराएको एपिएफ अस्पतालका प्रमुख डा. रूपक महर्जनले बताए । अस्पतालसँगको सहकार्यमा महिला संघले पाठेघर समस्या सम्बन्धी तालिम तथा अन्य काम गर्दै आएको उनको भनाइ छ । अस्पतालमा मेसिन उपलब्ध भएसँगै महिलाहरुको पाठेघर सम्बन्धी चेकजाँच गर्न थप सहज हुने स्वास्थ्यकर्मीको विश्वास छ ।
मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका प्रमुख डा. महर्जनले सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष खनालका साथै कार्य समितिका पदाधिकारी एवं सल्लाहाकारलाई प्रशंसापत्र प्रदान गरेका थिए ।