शनिबार २८ साउन २०७९

खोटाङ । कक्षा कोठामा पढाउन आउदा मा, दक पदार्थ सेवन गरेको आरोप लगाउँदै खोटाङमा विद्यार्थीहरुले एक शिक्षकमाथि कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका छन् । नियमित विद्यालय नआउने, आउदा पनि मापसे गरेर आउने र कक्षा कोठाभित्रै निदाएर बस्ने गरेको आरोप लगाउदै अनेरास्ववियु क्रान्तिकारी समर्थित विद्यार्थीहरुले शिक्षलाई कालोमोसो र जुत्ताको माला लगाएका हुन् ।

अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा कुर्सीमा राखेर मोसो दल्दै जुत्ताको माला लगाइदिएको तस्वीर सार्वजनिक भएको छ ।

चौतर्फी गुनासोपछि शिक्षकलाई सुध्रनका लागि पटक-पटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले संगठानिक कारवाही भएको अनेरास्ववियु क्रान्तिकारीका प्रदेश १ सदस्य तावेल राईले जानकारी दिए ।यसअघि खोटेहाङ गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा कुनै कारवाही नभएको र उल्टै उनै शिक्षक बचाउ गरिएको विद्यार्थी नेता राईको भनाई छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार विद्यार्थीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङभञ्ज्याङमा रहेको आफ्नै कोठाबाट बाहिर निकालेर सार्वजनिकस्थलमा लगी मोसो र माला लगाएका थिए ।घटनाबारे आफूले पनि जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

विद्यार्थीको कारवाहीमा परेका राई ८ वर्षदेखि प्रधानाध्यापकको रुपमा कार्यरत थिए । विद्यार्थी र अभिभावकको गुनासोपछि केही महिनाअघि राईलाई प्रअबाट समेत हटाइएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङमा भने सो घटनाबारे कुनै प्रकारको लिखित जाहेरी नआएको बताइएको छ ।


Last Updated on: March 11th, 2022 at 11:36 am
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया