बुधबार २५ साउन २०७९

प्रदेश १ सरकारले संखुवासभाको मादी ६ मा भएको सवारी दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने जनाएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार बिहीबार संखुवासभाको मादी ६ मा भएको सवारी दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैया उपलब्ध गराउने भएको छ।

ओखलढुंगामा रहेका मन्त्री कार्कीले सवारी दुर्घटनाले प्रदेश सरकारलाई समेत स्तब्ध बनाएको बताउँदै मृतक १५ जनाको परिवारमा आर्थिक सहयोग गर्ने बताए। त्यसैगरि, सो दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै ब्यहोर्ने मन्त्री कार्कीले जानकारी दिए।

त्यसैगरि, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीका अनुसार मादीबाट झापाको दमक आउदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवहाक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो।

१४ जना यात्रुको घटनास्थलमा मृत्यु भएको बताएका प्रहरी प्रमुख बिसीले घाइते ५ जनालाई उपचारका लागि हेलिकप्टबाट बेलुका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो। जसमा २७ वर्षीया युका पोखरेलको वीपीमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

घटनामा परि मादी ६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी ४ की २४ वर्षीया करिश्मा तामांग, मादी ६ की २२ वर्षीया तुलसा कट्वाल, र मादी ४ का २४ वर्षीय सुवास तामांग घाइते अवस्थामा छन्। उनीहरुको हाल वीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उनीहरुको अवस्था सामान्य रहेको छ। त्यसैगरि, घटनामा परि बसका चालक तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौला, सह चालक मादी ५ का उमेश भट्टराई, मादी ४ का ६० वर्षीय बलबहादुर कार्की, मादी ५ का ५५ वर्षीय श्याम शेर्पा, मादी ५ का ४८ वर्षीय दिपककुमार दाहाल, मादी ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी २ का ४२ वर्षीय इन्द्र अधिकारी, मादी ६ की ३२ वर्षीया अञ्जना कटुवाल, मादी ६ की ३० वर्षीया सिता बि.क, मादी ४ की २८ वर्षीया सविता कार्की, मादी ६ की ५ वर्षीया दीक्षा कट्वाल, मादी ४ का आइतबहादुर तामांग, ताप्लेजुंगकी ३१ वर्षीया समीक्षा योञ्जन, ताप्लेजुंगकै ८ वर्षीय सुदिप घिसिंग र २७ वर्षीया युका पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

 


Last Updated on: March 12th, 2022 at 12:33 pm
२१० पटक हेरिएको

तपाईको प्रतिक्रिया