शनिबार २८ साउन २०७९

सङ्खुवासभाको चैनपुर नगरपालिका–७ की मीना लिम्बू (परिवर्तित नाम) ले सानैमा आमा–बुबा गुमाइन् । तर तीनभाइ काकाहरू र हजुरबुबा–हजुरआमा भएका कारण उनले टुहुरी अनुभूति गर्न पाएकी थिइनन् । अझ काकाले आफ्ना दुई छोरी हुँदाहुँदै पनि मीनालाई लिखितम् गरेरै पालनपोषण गर्ने प्रतिबद्धता जनाएपछि त उनले आफूलाई भाग्यमानी नै ठानेकी थिइन् ।

काका–काकीले पालनपोषणको जिम्मा लिए पनि उनी आफूलाई जन्म दिने आमाबुबाको शेष जहाँबाट सकियो त्यहीँ अर्थात् हजुरबुबा–हजुरआमा बसेको घर (मूलघर) मा बस्न थालिन् । मूलघर र काकाको घर केही मिनेटको दूरीमा थियो । त्यसैले कहिलेकाहीँ काकाको घर पुग्थिन् । प्रायःजसो मूलघरमा हजुरबुबा–हजुरआमा अनि फुपूहरूसँग बस्थिन् ।

दुई फुपूहरू कक्षा नौ र १० मा पढ्थे । मीना कक्षा चारमा पढ्थिन् । तर हजुरबुबाले भने आफ्ना छोरीहरू (मीनाका फुपू) लाई मात्र विद्यालय पठाउँथे । मीनाले भने घर–गोठकै काममा दिन बिताउनुपर्थ्यो । सबैले खाना खाएपछि मात्र मीनाले खान पाउँथिन् । सबैका जुठा भाँडा मोल्नुपर्थ्यो । यसैले पनि उनी पढ्नबाट बञ्चित थिइन् । स्कुल जान नपाउँदा साथीहरूसँग भेट गर्न नपाउँदा उनी एकोहोरीजस्तै भएकी थिइन् ।

मीनाका हजुरबुबा उमेरले ६८ वर्ष पुगिसकेका थिए । मीना उनका जेठा छोराकी छोरी हुन् । हजुरबुबा धामी–झाँक्री थिए । कतै धामी बसेर आउँदा मीनालाई फलफूल मिठाइ, राटी ल्याइदिन्थे । यसैले मीना हजुरबुबा, हजुरआमाको मायाबाट मख्ख थिइन् । तर उनका हजुरबुबाको नजर भने मीनाको नवयौवनमा परिसकेको थियो ।

मीना हुर्किनेक्रममा थिइन् । १४ वर्षीय मीनामाथि उनका हजुरबुबाको कुदृष्टि परिसकेको थियो । हजुरबुबा धामी बसेर प्रायः राति आउने । पहाडको घर, ढोकाविहीन कोठामा एक्लै सुत्ने गर्थिन्, मीना । मुलघरमा उनको कोठामा मात्र होइन, केही परतिर रहेको फुपूहरूको कोठामा पनि ढोका थिएन । हजुरआमा टाँडमाथि सुत्थिन् ।

२०७८ साल असार ७ गते राति । धामी बसेर फर्किएका हजुरबुबा मीनाको कोठामा छिरे । मीनामाथि जबरजस्ती करणी गरे । मीनाको चित्कार अरूले थाहा पाएनन् । बलात्कारपछि रुन थालेकी मीनालाई उनका हजुरबुबाले पिट्ने धम्की दिए । कसैलाई भनेको खण्डमा मारिदिने भन्दै दाह्रा किटे । ‘धामी हुँ, जे पनि गर्न सक्छु’ भन्दै त्रास देखाएपछि डराएकी मीनाले कसैलाई भन्ने आँट गरिरन् । त्यतिकै पनि पढ्न नपाउँदा एकोहोरिएकी मीनामाथि पटक–पटक उनका हजुरबुबाले ‘हैकम’ जमाए । कहिले माया गरेजस्तो गरेर करणी गरे, कहिले धम्की दिँदै बलात्कार गरे । लगातार चार महिना मीना उनका हजुरबुबाको यौनक्रियाको सिकार बनिन् ।

मीना शारीरिक बनोट ठुली भए पनि मानसिक रूपमा उनी नाबालिग थिइन् । उनले सिक्न धेरै बाँकी थियो । विद्यालय जान नपाएपछि उनको सिक्नेक्रममा विश्राम लागेको थियो । झन्, घर–गोठको काम अनि हजुरबुबाको धम्कीका कारण केही नयाँ कुरा सिक्ने उत्सुकता पनि मरिसकेको थियो । मीना यतिसम्म अन्जान थिइन् कि, उनलाई यौन सम्बन्धबाट बच्चा जन्मिन्छ भन्ने थाहासमेत थिएन । महिनावारीको विषयमा उनी धेरै जानकार थिइनन् । महिनावारी रोकिँदा गर्भ बस्छ भन्ने उनलाई थाहा थिएन ।

घरिघरि काकाको घर जाँदा उनकी काकीले महिनावारीका बारेमा सोध्थिन् । जसमा उनले निरन्तर भइरहेको बताउँथिन् । तर मीना दिनानुदिन अस्वस्थजस्तो देखिएपछि उनकी काकीले स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी लगिन् । परीक्षणपछि मीना गर्भवती रहेको पत्ता लाग्यो । काकीले केरकार गरेपछि उनले डरका बाबजुत पनि हजुरबुबाले करणी गरेको सुनाइन् । गाउँले मीनाको मुलघरमा भेला भएपछि सुरुमा त उनका हजुरबुबाले अस्वीकार गरे । मीनाले आफूलाई धम्की दिएर करणी गरेको सुनाएपछि उनका हजुरबुबाले स्वीकारेर लिखित् रूपमा हस्ताक्षरसमेत गरे ।

पछि प्रहरीसमक्ष केस पुगेपछि भने मीनाकी हजुरआमालगायत केही आफन्तले उनीमाथि नै लाञ्छाना लगाए । ‘गाउँगाउँ डुल्ने, कति दिनसम्म हराउने गरेको’ आरोप लगाउँदै मीना अरूकै गर्भ बोकेको उनीहरूको आरोप थियो । वृद्ध उमेरकी मीनाकी हजुरआमाले इलाका प्रहरी कार्यालय, चैनपुरमा भनिन्, ‘मेलापात गोठालामा अरू कोहीसँग सुतेकी होली । कति रात यो घर आउँथिन । कता हराउँथी । मेरा वृद्ध उमेरका पतिले यस्तो गर्नै सक्नुहुन्न । उहाँले त अभिभाकत्व दिनुभएको छ ।’

घटना शङ्कास्पद देखिएको भन्दै प्रहरीले मीनाको डिएनए परीक्षण गर्ने निर्णय गरेको थियो । सङ्खुवासभामा डिएनए टेस्टका लागि नमुना सङ्कलन गर्न सम्भव नरहेपछि उनलाई विराटनगरस्थित कोसी अस्पताल ल्याइयो । कोसीमा डाक्टरहरू उपलब्ध नभएपछि उनलाई पुनः धरान फर्काइयो । धरानमा पनि डिएनएको स्याम्पल कलेक्सन गर्ने चिकित्सक उपलब्ध नभएपछि उनी विराटनगरमा रहेको एबिसी नेपालको शरणमा पुगिन् । मीनासँगै आएकी उनकी काकी डिएनएका लागि दुई दिन अस्पताल धाउँदा पनि सफल नभएपछि गर्भपतन गराउने निचोडमा पुगिन् ।

सबैतिर छलफल गरेपछि उनी गर्भपतन गराउने निधोमा पुगेकी थिइन् । किनकि, ती अबोध मीनाले बच्चा जन्माउन सहज थिएन । त्यसमाथि मीनालाई सुत्केरी गराउँदा उनको ज्यानै तलमाथि हुनसक्ने जोखिम थियो । अनि सन्तान जन्माउँदा पालनपोषणको जिम्मेवारीका विशेष सवालहरू बाँकी नै थिए । यसैले मीना र उनकी आमा कोसी अस्पतालमा गर्भपतन गराउन पुगे । मीना गर्भपतनका लागि तयार थिइन् । हजुरबुबाको नाजायज सन्तान फाल्नका लागि बेडमा सुतिसकेकी थिइन् । उसैगरी चिकित्सकहरू उनको गर्भपतन गराउन तयार थिए ।

तर एक्कासि मीनाकी काकीलाई प्रहरीको फोन आयोे । कानुनी रूपमा गर्भपततन गराउन नमिल्ने भनेर प्रहरीले फोन गरेपछि उनले ‘हामीलाई यो बच्चा चाहिएको छैन । फेरि नाबालिकालाई सुत्केरी गराउँदा उसको मृत्यु भयो भने को जिम्मेवार ?’ भन्दै प्रश्न गरिन् । अन्नतः कानुनी परिबन्धका कारण मीनाले सन्तान जन्माउनै पर्ने बाध्यता भयो ।

कानुनी परिबन्धले सुत्केरी

मीना एबिसी नेपालमा करिब अढाइ महिना बसिन् । पुस १६ गते उनकी काकीले एबिसी र प्रहरी प्रशासनको सहमतिमा उनलाई काठमाडौँ पुर्‍याइन् । एबिसीमा आश्रित अन्य पीडितहरूसँगको घुलमेलमा आफ्नो पीडा भुल्ने प्रयासमा रहेकी मीनालाई काकीले काठमाडौँस्थित आफन्तको संरक्षणमा राखेकी हुन् ।

काठमाडौँ बसाइको अढाइ महिनापछि उनी सुत्केरी बनेकी छन् । आइतबार (आज) मात्र मीनाले छोरा पाएको एबिसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले जानकारी दिइन् । ‘आजमात्र उनले छोरा पाएको सुनेकी छु,’ उनले भनिन्, ‘उनका परिवार हामीसँग निरन्तर सम्पर्कमै छ । कानुनी बाध्यताका कारण उनले सन्तान जन्माउनु पर्ने अवस्था आएको हो ।’

एबिसी नेपालकी कार्यक्रम अधिकृत मीना श्रेष्ठका अनुसार बलात्कार अभियोग लागेका ती वृद्ध भने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा थुनामा रहेका छन् । प्रहरीले थुनामै राखेर उनीमाथि अनुसन्धान गरिरहेको जनाउँदै उनले ती वृद्धकी पत्नी र गाउँलेका कारण मुद्दा गिजोलिएपछि डिएनए टेस्ट गर्नुपर्ने अवस्था आएको बताइन् ।

‘प्रहरीले शङ्कास्पद देखेपछि डिएनए टेस्ट गर्नुपर्ने निर्णय गरेपछि ती अबोधमाथि थप पीडा परेको छ,’ उनी भन्छिन्, ‘कानुनी प्रावधानले डिएनएका लागि बच्चा पाउनैपर्ने बाध्यता देखाइदियो ।’

‘महिला हिंसा बढ्यो’

एबिसी नेपालकी अध्यक्ष शर्माका अनुसार समाज शिक्षित हुँदैगर्दा झन् महिला हिंसा बढिरहेका छन् । एबिसी नेपालमै पनि महिला हिंसा तथा जबर्जस्तीकरणीका धेरै घटनाहरू आउन थालेका छन् । हिंसाका विषयमा पीडत खुलेर बाहिर निस्कँदा पनि हिंसा बढेको देखिएको उनको भनाइ छ ।

राज्यले पनि महिला सशक्तीकरण ध्यान नदिँदा, निःशुल्क उच्च शिक्षा तथा रोजगारीजस्ता विषयमा ध्यान नदिदाँ र हरेक क्षेत्रमा महिलालाई समान अवसर नदिँदा यस्ता घटनाहरू बढ्न थालेको बताउँदै उनले पारिवारिक शिक्षाको अभाव, महिला हिंसाको विषय पाठ्यक्रममा समावेश नभएको अवस्था, पितृसत्तात्मक सोचले पनि महिला हिंसाका घटना निर्मुल हुन नसकेको बताइन् ।

‘राज्यले छोरीलाई छोरासरह अंशियार बनायो तर अहिलेसम्म कुनै छोरीले अंश लिएको अवस्था छैन,’ उनी भन्छिन्, ‘छोरीलाई बिहे गर्दा दाइजोमात्र दिएर पठाइन्छ । छोरीले अंश लिएमा माइतीको मुखै देख्न नपाउने अवस्था हुन्छ । नेपालमा कानुन कडा छ तर कार्यान्वयनमा समस्या उत्तिकै छ ।’

महिलामाथि विभेद, आर्थिक सशक्तिकरण, महिलालाई अधिकारविहीन बनाइनु, महिलालाई कमजोर बनाउने सामाजिक परिवेश, हिंसा सार्वजनिक गरेमा लाग्ने लाञ्छना, महिलाहरूमा शिक्षामा कमी, नीति निर्माण गर्ने तहमा महिला सहभागिता नहुँदा पनि महिला हिंसामा कमी नआएको उनी बताउँछिन् ।

पीडकलाई दोहोरो सजाय हुन्छ : अधिवक्ता तारा खनाल

अधिवक्ता तारा खनाल हाडनातामा करणी भएको र पीडीत युवती नाबालिग भएको हुनाले पीडकलाई कानुनले दोहोरो सजायको व्यवस्था गरेको बताउँछिन् ।

केटिएम दैनिकसँग कुरा गर्दै अधिवक्ता खनालले भनिन्, ‘मुलुकी अपराधसंहिताको परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको व्यवस्था गरिएको छ । दफा ३ को ख मा १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय तोकेको छ ।’

यो केसमा हाडनातामा करणी भएको हुनाले उक्त ऐनको दफा २२० को उपदफा ग अनुसार थप तीन वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

एबिसीमा अन्य १० पीडित आश्रित

२८ वर्षअघि स्थापना भएको एबिसी नेपालले हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय हेरचाह गर्दै आएको छ । घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार–करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन दुर्व्यहार, प्रेमविवाह, कुटपिट र हराएका बालिका तथा महिलाका समस्यामा सहयोग गर्दै आएको छ ।

एबिसीमा अहिले नौ देखि २२ वर्षसम्मका १० जना युवतीहरू आश्रित रहेको संस्थाकी कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिइन् । पछिल्लो ६ महिनाको तथ्याङ्कअनुसार एबिसीमा जबर्जस्तीकरणीको सातवटा, यौन हिंसाको चारवटा र शारीरिक हिंसाको ३१ वटा, बालविवाह र जबर्जस्ती विवाहको तीनवटा, स्रोत–साधनबाट बञ्चित गराइएको तीनवटा र मानसिक तथा भावनात्मक हिंसाका १२ वटा केहरू आएको उनको भनाइ ।

त्यसबाहेक दैनिक तीनदेखि चार जनासम्म घरेलु हिंसामा परेका महिला सहयोग माग्न आउने गरेको उनले बताइन् । सो संस्थाले पीडितलाई संरक्षण र सहयोग गर्नाका साथै संरक्षणमा रहेका पीडित महिलालाई सिलाइकटाइ र सौन्दर्यको तालिम दिँदैआएको छ । तालिमबाट धेरै महिला आत्मर्निभर भई स्वरोजगारसमेत भइरहेका छन् । संस्थामा हाल पाँच कर्मचारी कार्यरत छन् ।


Last Updated on: March 14th, 2022 at 11:19 am
९७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया