
काठमाडौं, चैत २७ । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ ।
वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए ।
त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे ।
सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् । गृहमन्त्रालयले आज रामनवमीको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।
रुपन्देही, २५ चैत – केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।छिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् ।
समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी ग¥यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला निर्माणले सामुदायिक विद्यालयको मुहार नै फेरियो ।
बुटवलको कान्ति माविमा अहिले झण्डै पाँच हजार विद्यार्थी अध्ययन गर्छन् । यस वर्ष गत वर्षभन्दा एक हजारले विद्यार्थी बढेका हुन् । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजा राम्रो भएकै कारण विद्यालयमा आकर्षण बढेको कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउनुहुन्छ । “संस्थागत विद्यायमा खर्च बढी छ । न्यूनतम खर्चमा गुणस्तरीय शिक्षा लिन सकिने भएपछि विद्यार्थी सामुदायिक विद्यालयमा आउँछन् ”, प्रअ ज्ञवालीले भन्नुभयो, “सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारको निर्णयले गर्दा पनि सकारात्मक प्रभाव परेको हो ।”
सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेश भैरहवाबाट गरिएको मूल्याङ्कनमा आर्थिक वर्ष २०७७÷०७८ मा सो विद्यालय जिल्लाकै उत्कृष्ट ठहर भई पुरस्कृत भएको थियो । बुटवलकै नवीन औद्यागिक कदरबहादुर रिता माविमा पनि विद्यार्थीको चाप बढी छ । “विगतका वर्षमा भन्दा विद्यार्थीहरू अत्यधिक बढेका छन् अहिले राख्ने कोटा छैन”, प्रअ प्रेमबहादुर बस्नेत भन्नुहुन्छ । उहाँका अनुसार विद्यालय २०७० सालमा देशका ३३ उत्कृष्ट सामुदायिक विद्यालयमध्ये १९औँ स्थानमा सूचीकृत भएको तथा २०७५ मा लुम्बिनी प्रदेशमा पाँचौंँ स्थानमा, रुपन्देही जिल्लामा द्वितीय स्थानमा र ब्रिटिस काउन्सिलबाट आइएसए २०१७–२०२० र २०२१ देखि २४ प्राप्त गरेको छ ।
अङ्ग्रेजी माध्यममा अध्ययनअध्यापन गराइँँदै आएको सो सामुदायिक विद्यालयका करिब २२ जना विद्यार्थी यस वर्ष काठमाडौँसहित देशका विभिन्न इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिसहित अध्ययनका लागि छनोट हुन सफल भएका छन् । विद्यालयमा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन र शिक्षाशास्त्र सङ्काय गरी तीन हजार ६१५ विद्यार्थी अध्ययनरत तथा १४८ शिक्षक– कर्मचारी छन् । विद्यालयमा स्टाफ नर्सको पनि व्यवस्था गरिएको छ ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक २०१८ सालमा स्थापित बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा अध्ययनअध्यापन हुँदै आएको छ । विद्यालयका प्रअ दिनेश थापाका अनुसार चार पटक २०७१ सालदेखि लगातार चारपटकसम्म विद्यालय अन्तरराष्ट्रिय स्कूल अवार्डबाट सम्मानित हुँदै आएको छ । यो देशभरका सामुदायिक विद्यालयमध्ये सर्वोत्कृष्ट भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रु दुई लाख पुरस्कारसहित पुरस्कृत भएको छ । विसं २०७५ मा बुटवल – १० कै मानव ज्ञान माविसंँग गाभिएर कालिका मानव ज्ञान बनेको विद्यालयमा आठ हजार ७२ विद्यार्थी अध्ययनरत छन् ।“हामी विद्यार्थीलाई पढाउने भन्दा आफैँ सिक्न प्रेरित गर्छौँ र प्रोजेक्ट वर्कमा विशेष जोड दिन्छौँ, यो नै हाम्रो सफलताको आधार हो”, प्रअ थापा भन्नुहुन्छ ।
सानो चुहिने भवनबाट अध्ययनअध्यापन सुरु गरिएको बुटवल– ११ स्थित नहरपुर मावि पनि अहिले भौतिक र शैक्षिक दुवै हिसाबले अगाडि छ । विद्यालयमा नयाँ भवनसहित पुस्तकालय र प्रयोगशाला पनि निर्माण गरिएको छ । पाँच वर्षअघिसम्म झण्डै ६ सय विद्यार्थी रहेको विद्यालयमा अहिले एक हजार ५५० विद्यार्थीले अध्ययन गर्ने गरेको विद्यालयका प्रअ धनिश्वर गौतम बताउनुहुन्छ । “हामीकहाँ निम्न आय भएका विद्यार्थी धेरै छन् । पढ्न चाहने जो कोहीलाई पनि भर्ना लिने गरिएको छ”, प्रअ गौतम भन्नुहुन्छ । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले निकै सहयोग गरेको उहाँको भनाइ छ ।
शैक्षिक गुणस्तरमा मुलुककै उत्कृष्ट हुन लागिपरेका यस क्षेत्रका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाको ‘सिङ्गो बुटवल एक विद्यालय’को अवधारणाले थप बल मिलेको छ । स्थानीय सरकारको पर्याप्त साथ र सहयोगले सामुदायिक विद्यालयका सञ्चालक, शिक्षक र विद्यार्थी हौसिएका छन् ।सबै विद्यालयमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको प्रबन्ध गर्दै विद्यार्थीका लागि एकै खालका पोसाकको व्यवस्था गरिने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य बताउनुहुन्छ । उहाँका अनुसार शैक्षिक गुणस्तर वृद्धिको अभियानअन्तर्गत अब अब्बल शिक्षकले कुनै एक विद्यालयमा मात्र नभई नगरका आवश्यक पर्ने सबै विद्यालयमा पुगेर पठनपाठन गराउनुपर्ने छ । यसले शिक्षाको गुणस्तर विकासलाई प्रभावकारी बनाउने छ ।
बुटवलमा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ कक्षा १ देखि ८ सम्म लागू भएको छ । शैक्षिक स्तर वृद्धिका लागि उपमहानगरका सहयोगमा सामुदायिक विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण भएका छन् । उपप्रमुख आचार्यका अनुसार रु एक करोड ५० हजार बराबरका लगानीमा विभिन्न विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशालाको निर्माण गरिएको हो ।
शैक्षिक गुणस्तरको विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को अवधारणाबाट समृद्ध बुटवल निर्माणको लक्ष्य साकार पार्न सहज हुने प्रमुख शिवराज सुवेदीको जिकिर छ ।
उपमहानगरका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीका अनुसार शैक्षिक सुधारका लागि कुल बजेट करिब रु ४० करोड विनियोजन गरिएको छ । यहाँका नौ सामुदायिक विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ लागु गरिएको छ । बुटवल माविमा, कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि रु छ लाख ५० हजार, उजिरसिंह माविमा कम्प्युटर अर्थात् सूचना प्रविधि प्रयोगशालाका लागि उपमहानगरमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत गरी रु २५ लाख विनियोजन भएको थियो ।
लक्ष्मी मावि, नयाँगाउँ मावि, मोतीपुर मावि, भवानी मावि र अमर माविमा विज्ञान प्रयोगशाला र कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापन कक्ष सञ्चालन भएका छन् । यसका लागि प्रतिविद्यालय रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको थियो । यस्तै बुटवलकै जितेश्वरी माविमा रु ३० लाख बराबरका लगानीमा नयाँ भवन निर्माण भएको उपमहानगरका शिक्षा शाखा पन्थीले जानकारी दिनुभयो ।
उजिरसिंह माविमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब रु २५ लाख बराबरका लगानीमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ । उपमहानगरका ३८ वटै सामुदायिक विद्यालयमा नयाँ अवधारणाका साथ शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरिएका छन् ।मोतीपुर माविमा अहिले ७२५ विद्यार्थी छन् । उपमहानगरबाट प्राप्त रु ६ लाख ५० हजार बजेटबाट विज्ञान प्रयोगशाला सञ्चालन गरिएको र आवश्यकताका आधारमा विस्तार गर्दै जाने विद्यालयको योजना छ । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीको चाप बढेपछि अझै ६ कक्षाकोठाको अभाव विद्यालयलाई छ ।
यस्तै बुटवल–१८ सौराहामा रहेको भवानी माध्यमिक विद्यालयको दुईकोठे भवन तयार भएको छ । सानो झुपडीबाट सुरु भएको विद्यालयमा अहिले आधुनिक भवन निर्माण भएको छ । प्रअ मञ्जु घिमिरेका अनुसार भौतिक पूर्वाधार मात्र नभई गुणस्तरका हिसाबले पनि विद्यालय अगाडि छ । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु १८ लाख बजेटमा दुईकोठे भवन निर्माण गरिएको छ ।
यस क्षेत्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तरमा प्रगति देखिएपछि अभिभावक पनि सन्तुष्ट छन् । “पहिले त छोराछोरी सरकारी स्कुल पढ्छन् भन्न पनि अप्ठ्यारो लाग्थ्यो तर अहिले गर्व लाग्छ”, अभिभावक राधिका खनाल भन्नुहुन्छ । अहिले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेरिएको उहाँको भनाइ छ ।स्थानीय तहका सहयोगमा नयाँ भवन निर्माण, विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माणपछि विद्यालय पनि आकर्षक देखिएका छन् । यसले विद्यार्थीमा उत्साह जागेको छ । “बोर्डिङ स्कुलका भवनका तुलनामा हाम्रो स्कुल आकर्षक नहुँदा मन खिन्न हुन्थ्यो । अहिले त हाम्रै विद्यालय राम्रो लाग्छ”, नहरपुर माविका विद्यार्थी सुस्मिता विक अनुभव सुनाउनुहुन्छ ।